free website hit counter

अमेरिकामा कोरोना महामारी नियन्त्रण बाहिर गएको वैज्ञानिकको घोषणा

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

एजेन्सी । अमेरिकाका वैज्ञानिकहरुले अमेरिकी सरकार महामारी रोक्ने दिशातर्फ उन्मुन नभएको आरोप लगाएका छन् । वैज्ञानिकहरुले कोरोनाभाइरस महामारीसम्बन्धी आफ्ना नीति बदल्न अनुरोध गरेका छन् । उनीहरुले कोरोनाभाइरस महामारीबाट संसारका सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका महामारीलाई रोक्ने दिशातिर उन्मुख नभएको चेतावनी पनि दिएका हुन् ।

अहिले अमेरिकामा कोरोनाभाइरसको महामारीबाट ४४ लाखजना संक्रमित भइसकेका छन् भने १ लाख ५० हजारजनाको मृत्युसमेत भइसकेको छ । गत बुधबार अमेरिकाको क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा गत मे महिनायताकै सबैभन्दा बढी मृत्युको घटना भएपछि जोन हप्किन्स युनभर्सिटीका अनुसन्धानकर्ताहरुले सो चेतावनीसहितको अनुरोध जारी गरेका हुन् । वैज्ञानिकहरुले जारी गरेको सो नीतिसम्बन्धी सारांश विवरणमा अमेरिकाले गत मे महिनामा घरमै बस्ने नीतिलाई कडाइका साथ लागू गरेकोले कोरोनासंक्रमणका केसहरुमाथि नियन्त्रण पाउन सकेको स्मरण गराइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार अहिले कोभिड–१९ का कारण विभिन्न राज्यहरुमा अस्पतालमा भर्ना हुनेहरुको संख्याले गत मार्च–अप्रिल महिनामा कोरोनोभाइरस संक्रमणको इपिसेन्टरको रुपमा देखापरेको न्यूयोर्कको स्थिति छेउछाउ पुगेको वा त्यसलाई पनि नाघेको पनि स्मरण गराएका छन् ।

महामारीले चर्को रुप लिँदै गरेको र अवस्था खराब बन्दै गइरहेका ठाउँहरुमा सरकारी पदाधिकारीहरुले स्थितिमा सुधार नभएसम्म कम्तिमा दुई हप्तासम्म घरमै बस्ने आदेश जारी गर्नु जरुरी भएको कुरा पनि सो प्रतिवेदनमा औंल्याएको छ । यस किसिमको निर्णय असहज हुनेछ तर नेतृत्वले जनतालाई सटिक र पारदर्शी ढंगले जनतालाई त्यसको उद्देश्य र त्यसो गरिने सम्भाव्य समयको बारेमा जानकारी गराउनु जरुरी छ ।

अनुसन्धानकर्ताहरुले स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षाका सामग्रीहरु तथा परीक्षणका उपकरणहरुको आपूर्ति बढाउनु पर्ने पनि सुझाव दिएका छन् । उनीहरुले संक्रमणसम्बन्धी तथ्यांकहरुको अझ राम्रो विश्लेषण तथा मुलुकभरि नै संक्रमण भएका व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी बढाउनुपर्ने सुझाव पनि दिएका छन् ।
यसबीच विज्ञहरुले अमेरिकामा देखापरेका कोरोनाभाइरसको नयाँ लहरहरुले आर्थिक रुपमा माथि उठ्ने कोशिशमा बाधा पुर्याइरहेको जानकारी दिएका छन् । (अलजजिराबाट)

सम्बन्धित समाचार