free website hit counter

अमेरिकामा कोरोना सङ्क्रमित नेपालीको संख्या ५०० पुग्यो

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौं । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ ।
रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।
अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउँछन् । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउँछन् ।
सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनले बताए । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन् । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउँछन् । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ ।
रासससँग कुरा गर्दै पौडेलले भने, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट ९अति सघन कक्ष० मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता निधन भएको थियो । नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।
तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताएका छन् । अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहेकी मञ्जु सङ्ग्रौलाले दिएको जानकारीअनुसार उनीहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् ।
यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भने, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ ।
नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार