free website hit counter

‘अर्णव’ चक्रवातको असर बिहीबारदेखि नेपालमा, भारी वर्षा र हिमपातको जोखिम

beemaadmin
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै गएको भन्दै मौसमविद्ले नेपालमा समेत यसको प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्। चक्रवातका कारण हावाहुरी, भारी वर्षा, हिमपात र हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको जनाइएको छ।

वैज्ञानिकहरूले उक्त चक्रवातलाई ‘अर्णव’ नाम दिएका छन्। भारतको मौसम विभागका अनुसार चक्रवात आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। सुरुमा प्रतिघण्टा १५ किलोमिटरको गतिमा पश्चिमतर्फ सर्दै गएको चक्रवात थप शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ।

Advertisement
Advertisement

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवातको प्रभाव पर्दा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ। बुधबार बिहानसम्म यसको वेग प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

Advertisement
Advertisement

मौसमविद्हरूका अनुसार मंगलबार दिउँसोदेखि भारतको आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा प्रभाव पार्ने प्रणाली त्यसपछि अन्य मौसमी प्रणालीसँग मिसिँदै नेपालतर्फ अघि बढ्न सक्छ।

नेपालमा भारी वर्षा र हिमपातको सम्भावना

नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि चक्रवातको प्रभाव नेपालमा देखिन सक्नेछ। बिहीबारदेखि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

मौसमविद् माधुरी सिग्देलका अनुसार चक्रवातको प्रभावले हावाहुरी, चट्याङ र वर्षासँगै हिमाली क्षेत्रमा भारी हिमपात गराउन सक्छ। हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने उनले बताएकी छन्।

चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा बदली र वर्षा हुन सक्ने भएकाले शनिबारसम्म काठमाडौं उपत्यकासहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

धानबाली भित्र्याउन र हिमाली यात्रा नगर्न सुझाव

मौसम पूर्वानुमान महाशाखाले सोमबार सार्वजनिक गरेको पाँचदिने मौसम पूर्वानुमानमा बुधबारसम्म धानबाली भित्र्याउन सुझाव दिइएको छ। वर्षा र हावाहुरीका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई मौसमको अवस्था हेरेर आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

त्यस्तै, प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहण नगर्न पनि मौसमविद्ले सुझाव दिएका छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अपिल जारी गर्दै चक्रवात शक्तिशाली बन्दै गएकाले नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि यसको प्रभाव बढी पर्न सक्ने जनाएको छ। प्राधिकरणले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणले आधिकारिक मौसम पूर्वानुमान तथा विपत्सम्बन्धी सूचनामा ध्यान दिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्नु उचित हुनेछ।

सम्बन्धित समाचार