free website hit counter

असोजमा पनि बैंकको ब्याजदर घट्यो

beemaadmin
२०८३ भाद्र ३१, बुधबार

काठमाडौं । नेपालका २० वाणिज्य बैंकले असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरूले निक्षेपको ब्याजदरमा थप कटौती गरेका छन्।

असोजका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो। अर्थात् व्यक्तिगत निक्षेपको औसत दर ०.०४६५ प्रतिशतविन्दुले घटेको हो।

त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको औसत दर असोजमा ३.०६६५ प्रतिशतमा झरेको छ। यसमा ०.०१४५ प्रतिशतविन्दुको कमी आएको हो।

एभरेष्टले सबैभन्दा धेरै घटायो

असोजमा एभरेष्ट बैंकले निक्षेपको ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशतमा कायम गरेको छ। संस्थागततर्फको दर पनि ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशतमा झारिएको छ।

नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको दर भने ३.०१ प्रतिशतमा यथावत् राखिएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको दर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत तथा कुमारी बैंकले ०.०३ प्रतिशतविन्दुले घटाएर ३.७३ प्रतिशत कायम गरेका छन्।

सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेको छ।

सानिमाले संस्थागत दर बढायो

बैंकहरूमध्ये सानिमा बैंकले भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ। बैंकले संस्थागत निक्षेपको दर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको हो। व्यक्तिगत निक्षेपतर्फ भने ४.५ प्रतिशतको दरलाई निरन्तरता दिइएको छ।

असोजमा प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। यी बैंकले भदौकै दरलाई असोजमा पनि निरन्तरता दिएका छन्।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेकाले निक्षेप तान्न बैंकहरूबीच प्रतिस्पर्धा कम हुनु तथा कर्जाको मागमा अपेक्षित सुधार नआउनुलाई ब्याजदर घट्नुको प्रमुख कारणका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार