free website hit counter

अस्ट्रेलियाका नेपाली विद्यार्थी अन्योलमा

beemaadmin
२०७६ चैत्र २२, शनिबार

सिड्नी । नेपाली युवाहरुको पहिलो रोजाईको गन्तव्य बनेको अष्ट्रृेलियामा रहेका विद्यार्थी कोरोना संक्रमणका कारण अहिले समस्यामा परेका छन् । विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् । सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी बसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसक्ने जनाएका छन् । प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन् ।
अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांक २०१९ अनुसार नेपाली विद्यार्थीको संख्या कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ७ प्रतिशत छ, चीन र भारतपछि तेस्रो नम्बरमा नेपाल आउँछ । २०१९ मा ६६ हजार ५ सय विद्यार्थी नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया गएका थिए । त्यस्तै, जनवरी २०२० मा भर्ना भएका ५ लाख २७ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ८ प्रतिशत अर्थात् ४२ हजार १ सय ६० जना नेपालका थिए । नेपालमा अस्ट्रेलियामा विद्यार्थी पठाउने झन्डै ३ हजार कन्सल्टेन्सी छन् ।
अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ । यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् । अस्ट्रेलियाको मानव सेवा, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्रालयले अस्थायी भिसामा बसोबास गर्ने झन्डै २१ लाख १७ हजार व्यक्तिमा यो नियम आकर्षित हुने जनाएको छ ।अस्ट्रेलियामा महामारीका कारण पार्टटाइमको काम गर्ने अवसरबाट विमुख अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा भने कुनै सहुलियतको योजना छैन ।

सम्बन्धित समाचार