free website hit counter

अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीकाे भिसा शुल्क फेरि बढ्यो

beemaadmin
२०८३ असार १९, शुक्रबार

काठमाडौं — उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने योजना बनाइरहेका नेपाली विद्यार्थीलाई थप आर्थिक भार पर्ने भएको छ। अस्ट्रेलिया सरकारले जुलाई १ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा आवेदन शुल्क बढाएको छ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार अष्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अष्ट्रेलियन डलर पुर्‍याइएको छ। पछिल्ला वर्षहरूमा अस्ट्रेलियाले विद्यार्थी भिसा नीति लगातार कडा बनाउँदै आएको अवस्थामा शुल्क वृद्धिले नेपाली विद्यार्थी र अभिभावक थप अन्योलमा परेका छन्।

शिक्षा परामर्शदाता संस्थाहरूका अनुसार कक्षा १२ उत्तीर्ण गरी स्नातक अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका धेरै विद्यार्थीले आफ्नो योजना पुनः मूल्यांकन गर्न थालेका छन्। कतिपयले वैकल्पिक गन्तव्य खोजिरहेका छन् भने केहीले अतिरिक्त आर्थिक व्यवस्थापनको उपाय खोजिरहेका छन्।

विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श दिँदै आएको कंगारु एजुकेशन फाउन्डेसनका प्रमुख महेशबाबु तिमिल्सेनाका अनुसार भिसा शुल्क मात्र नभई अध्ययनसँग सम्बन्धित अन्य खर्च पनि बढेकाले समग्र अध्ययन लागत उल्लेखनीय रूपमा वृद्धि भएको छ।

उनका अनुसार शुल्क वृद्धिको प्रत्यक्ष असर अहिले आवेदन प्रक्रियामा रहेका विद्यार्थीमाथि देखिन थालेको छ। जीवनयापन खर्च, विश्वविद्यालयको ट्युसन शुल्क तथा अन्य अनिवार्य खर्च बढ्दै जाँदा धेरै विद्यार्थीले तत्काल निर्णय नगरी विकल्पहरू अध्ययन गरिरहेका छन्।

शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूका अनुसार अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नीति थप कडा बनाउँदै लगेपछि नेपालजस्ता मुलुकका मध्यमवर्गीय परिवारका विद्यार्थी बढी प्रभावित हुने देखिएको छ। अध्ययनको प्रारम्भिक लागत बढेपछि विदेश अध्ययनको सपना अझ चुनौतीपूर्ण बन्ने उनीहरूको भनाइ छ।

अस्ट्रेलियाले के–के परिवर्तन गर्‍यो?

अस्ट्रेलिया सरकारले विद्यार्थी भिसा आवेदन शुल्क २५ प्रतिशतले वृद्धि गर्दै २ हजार ५ सय अष्ट्रेलियन डलर कायम गरेको छ। साथै, अस्थायी स्नातक (टेम्पोररी ग्राजुएट) भिसाको शुल्क ४ हजार ६ सयबाट बढाएर ५ हजार ७ सय ५० अष्ट्रेलियन डलर पुर्‍याइएको छ।

यस्तै, अंग्रेजी भाषा अध्ययन गर्ने विद्यार्थीको भिसा शुल्क पनि बढाइएको छ। यसका अतिरिक्त विश्वविद्यालयको ट्युसन शुल्क, विद्यार्थी स्वास्थ्य बीमा, वार्षिक खर्च तथा भिसाका लागि देखाउनुपर्ने न्यूनतम आर्थिक स्रोतसम्बन्धी मापदण्डमा समेत कडाइ गरिएको छ।

नेपाली विद्यार्थीको रोजाइ बदलिँदै

शिक्षा परामर्शदाताहरूका अनुसार पछिल्लो समय अस्ट्रेलियाको विकल्पका रूपमा बेलायत, स्विट्जरल्यान्ड, क्यानडा, जापान तथा युरोपका अन्य देशप्रति नेपाली विद्यार्थीको आकर्षण बढ्न थालेको छ।

महेशबाबु तिमिल्सेनाका अनुसार शुल्क वृद्धिभन्दा पनि भिसा स्वीकृति दर घट्दै जानुले धेरै विद्यार्थीलाई वैकल्पिक गन्तव्य रोज्न प्रेरित गरेको छ।

अस्ट्रेलियाकै शिक्षा क्षेत्र पनि असन्तुष्ट

विद्यार्थी भिसा शुल्क वृद्धिप्रति अस्ट्रेलियाका शिक्षा तथा व्यवसायिक क्षेत्रले समेत असन्तुष्टि जनाएका छन्।

अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले अस्ट्रेलियाको विद्यार्थी भिसा शुल्क विश्वकै महँगामध्ये एक भइसकेको अवस्थामा थप वृद्धि गर्दा अन्तर्राष्ट्रिय विद्यार्थी अन्य देशतर्फ आकर्षित हुन सक्ने चेतावनी दिएको छ।

त्यस्तै, अस्ट्रेलियाली विश्वविद्यालयहरूले पनि विदेशी विद्यार्थीबाट प्राप्त आम्दानीमा अत्यधिक निर्भर रहनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने स्वीकार गर्दै आयका वैकल्पिक स्रोत विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सम्बन्धित समाचार