free website hit counter

आइएमई लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मान

beemaadmin
२०८३ श्रावण १७, आईतवार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ।

कम्पनीले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट’ कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको हो। अवार्ड आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल र सन्दीप अग्रवाललगायतले वितरण गरेका थिए।

कम्पनीका अनुसार उत्कृष्ट अभिकर्ताको योगदानको सम्मान गर्दै अन्य अभिकर्तालाई पनि थप उत्साहका साथ काम गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। साथै, अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यावसायिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। आगामी दिनमा अभिकर्ताको कामलाई अझ सहज बनाउन आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने उनले उल्लेख गरे।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विगत आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै डिजिटल प्रविधिमार्फत सेवा विस्तारमा आइएमई लाइफ अग्रसर रहेको धारणा राखे।

कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बिक्रीकर्ताभन्दा पनि बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि कम्पनीले नियमित तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए।

यस्तै, प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक सफलतामा अभिकर्ताहरूको भूमिका निर्णायक रहेको उल्लेख गरे। उनले अभिकर्तालाई केन्द्रमा राखेर नयाँ योजना ल्याउने, सेवा परिमार्जन गर्ने र डिजिटल बैंकिङ तथा बीमा सेवालाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार