free website hit counter

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

beemaadmin
२०८३ असार ३१, बुधबार

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीमा सुशासन र नियामकीय अनुपालनलाई थप सुदृढ बनाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी एकदिने अभिमुखीकरण तालिम तथा सेमिनार सम्पन्न गरेको छ।

कम्पनीले असार २९ गते काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा आयोजना गरेको कार्यक्रममा सञ्चालक समिति, उच्च व्यवस्थापन तथा आधारभूत शेयरधनीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एएमएल/सीएफटीका विज्ञ प्रशिक्षक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी वर्तमान अवस्था, नियामकीय अपेक्षा तथा कम्पनीले पालना गर्नुपर्ने कानुनी दायित्वबारे प्रशिक्षण दिएका थिए।

तालिममा ग्राहक पहिचान तथा यथोचित सावधानी (Customer Due Diligence), जोखिममा आधारित दृष्टिकोण (Risk-Based Approach), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन, लक्षित वित्तीय प्रतिबन्ध (Targeted Financial Sanctions) लगायत विषयमा विस्तृत प्रस्तुतीकरण र अन्तरक्रियात्मक छलफल गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले नियामक निकायबाट जारी भएका ऐन, नियम, निर्देशिका, परिपत्र तथा निर्देशनको पूर्ण पालना गर्दै ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले प्रत्येक कर्मचारीले ग्राहक पहिचान प्रक्रिया र अनुपालनसम्बन्धी सबै कानुनी प्रावधानलाई दैनिक कार्यसम्पादनमा प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए।

यस्तै, कम्पनीका सञ्चालक उमाकान्त आचार्यले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक, सञ्चालक समिति, शेयरधनी, व्यवस्थापन तथा विभागीय प्रमुखहरूलाई धन्यवाद व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि नियामकीय व्यवस्था र कानुनी प्रावधानको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी शरण रेग्मीले गरेका थिए।

सम्बन्धित समाचार