काठमाडौं, असार १६ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रान्ज अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन्।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीले यस अवार्डले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिएको पुष्टि गरेको जनाएको छ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत खड्काले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस उपलब्धिले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई थप सुदृढ बनाउने जिम्मेवारी बढाएको उल्लेख गर्दै कम्पनीप्रति विश्वास गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस (A-)’ क्रेडिट रेटिङ प्राप्त गरेको पनि जनाएको छ।
हाल आईएमई लाइफको देशभर १६० शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा छन् भने ३५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान भइरहेको कम्पनीले जनाएको छ।
‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनीले वित्तीय पारदर्शिता, संस्थागत सुशासन र गुणस्तरीय सेवामार्फत बीमा क्षेत्रको विकासमा योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।