free website hit counter

आईएमई लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि पाँच लाख सहयोग

beemaadmin
२०८३ असार ३, बुधबार

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका अनुसार उक्त सहयोगबाट दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर र स्क्रिन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामग्री उपलब्ध गराइनेछ।

यस कार्यक्रमबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतस्थित तीन विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्। कम्पनीले यो सहयोगले उनीहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।

आईएमई लाइफ इन्स्योरेन्सले समावेशी शिक्षा र समान अवसरलाई समाज विकासको महत्वपूर्ण आधार मान्दै यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि र आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ।

फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

“भविष्य सुरक्षित” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार