काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफा, बीमाशुल्क संकलन तथा बीमा कोषको आकारमा वृद्धि भएको छ।
कम्पनीले समीक्षा अवधिमा ३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकि गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २० करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। यससँगै कम्पनी घाटाबाट नाफामा फर्किएको छ।
पहिलो त्रैमासमा कम्पनीको कुल बीमाशुल्क आर्जन पनि बढेको छ। असोज मसान्तसम्म कम्पनीले ७२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत आवको सोही अवधिमा यस्तो रकम ५८ करोड ७८ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन २३.२० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा ३४ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आवको पहिलो त्रैमासमा २४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्ष ४३.४८ प्रतिशतको वृद्धि हासिल गरेको हो।
कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४४ करोड ६७ लाख रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको रिटेन्ड अर्निङ १ करोड ६० लाख रुपैयाँले ऋणात्मक रहेको छ।
गत आवको सोही अवधिमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८६ करोड २५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४४ करोड ५७ लाख रुपैयाँ रहेको थियो। त्यतिबेला रिटेन्ड अर्निङ २ करोड ८२ लाख रुपैयाँले ऋणात्मक थियो।
समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १४.७४ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ अर्ब ३ करोड रुपैयाँ सञ्चित थियो।
यता, कम्पनीको खुद दाबी भुक्तानी भने घटेको छ। चालु आवको असोज मसान्तसम्म कम्पनीले २९ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आवको सोही अवधिमा ४९ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीको यस्तो रकम यस वर्ष ४०.९० प्रतिशतले घटेको हो।
तर, कम्पनीले भुक्तानी गर्न बाँकी रहेको दाबी रकम भने बढेको छ। असोज मसान्तसम्म कम्पनीको भुक्तानी गर्न बाँकी दाबी रकम ६ अर्ब ३० करोड ६० लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो रकम ५ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।
कम्पनीले समीक्षा अवधिमा कुल १७ हजार ८३२ वटा बीमालेख नवीकरण गरेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीले १७ हजार ७२९ वटा बीमालेख नवीकरण गरेको थियो।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा कम्पनीको ईपीएस २७.४१ रुपैयाँले ऋणात्मक रहेको थियो। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १७९.४२ रुपैयाँ रहेको छ।