free website hit counter

आईजीपीकै ब्याचीबाट बढुवाको सम्भावना

beemaadmin
२०८३ मंसिर १, सोमबार

काठमाडौं । नेपाल प्रहरीमा आगामी पुस ५ गतेदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) का ६ पद रिक्त हुने भएका छन्। हाल एउटा पद रिक्त रहेकोमा पुस ५ गते एकैपटक पाँच जना एआईजीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि रिक्त पदको संख्या ६ पुग्ने भएको हो।

अनिवार्य अवकाशमा जान लागेका एआईजीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उमाप्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक छन्।

Advertisement
Advertisement

तत्कालीन एआईजी मनोजकुमार केसी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएपछि अपराध अनुसन्धान विभागको एआईजी पद यसअघि नै रिक्त छ। अब पाँच जना एआईजी अवकाशमा गएसँगै प्रहरीमा एकैपटक ६ एआईजी पद खाली हुनेछन्।

Advertisement
Advertisement

अवकाशमा जान लागेका पाँचै जना एआईजी २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। पछि उनीहरू नेपाल प्रहरीमा आएका हुन्। प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरे पनि उनीहरूको सेवा अवधि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको मितिदेखि गणना हुने भएकाले ३० वर्षे सेवा अवधि पूरा हुन लागेको हो।

उनीहरूसँगै सोही ब्याचका केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि अनिवार्य अवकाशमा जानेछन्। डीआईजीहरू सुरेन्द्र गुरुङ, दिलीपसिंह देउवा र ओम राना अवकाशमा जाने भएका छन्। त्यस्तै, विनोद घिमिरे र माधव श्रेष्ठ पनि अवकाशमा जाने भएपछि प्रहरी संगठनमा वरिष्ठ डीआईजीको संख्या घटेर ६ मा सीमित हुने बताइएको छ।

आईजीपीकै ब्याचीबाट एआईजी बढुवाको सम्भावना

रिक्त हुन लागेका ६ एआईजी पदमा प्रहरी महानिरीक्षक मनोजकुमार केसीकै ब्याचका डीआईजीहरू बढुवा हुने सम्भावना बढी देखिएको छ। उनीहरू अन्य डीआईजीभन्दा करिब दुई वर्ष वरिष्ठ छन्।

२०८२ कात्तिक ९ गते पाँच जना डीआईजीमा बढुवा भएका थिए। एउटै ब्याचका भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बनेका थिए। त्यसपछि विश्वराज अधिकारी एकल रूपमा डीआईजीमा बढुवा भएका थिए।

यी ६ जना डीआईजी तत्कालै एआईजीमा बढुवा हुने सम्भावना कम रहेको प्रहरी स्रोतको भनाइ छ। उनीहरूमध्ये एक जनाले २०८४ चैतदेखि प्रहरी संगठनको नेतृत्व गर्ने सम्भावना छ। अहिले एआईजीमा बढुवा नभए पनि आगामी केही महिनामा रिक्त हुने पदमा उनीहरू बढुवा हुन सक्ने देखिन्छ। यद्यपि, केही डीआईजीले अहिले नै एआईजीमा बढुवा हुन प्रयास गरिरहेका छन्।

चार डीआईजी एआईजीका बलिया दाबेदार

अहिले एआईजीमा बढुवा हुने सम्भावना आईजीपी केसीकै ब्याचका डीआईजीहरूको बढी छ। उक्त ब्याचका ६ जना डीआईजी कार्यरत छन्। २०८१ पुसमा डीआईजीमा बढुवा भएका पाँचमध्ये चार जना अहिले एआईजीका प्रमुख दाबेदार मानिएका छन्।

उक्त समूहका ईश्वर कार्की यसअघि नै एआईजीमा बढुवा भइसकेका छन्। बाँकी डीआईजीहरू राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको एआईजीमा बढुवा हुने सम्भावना बलियो रहेको बताइएको छ।

हाल राजेन्द्र भट्ट अन्वेषण योजनामा, अरुण पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, दिनेश आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र गोविन्द थपलिया काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

२०८२ जेठमा बढुवा भएका डीआईजी पनि दाबेदार

२०८२ जेठ १६ गते ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा भएका थिए। उक्त समूहबाट पनि केही डीआईजी एआईजी बढुवाका दाबेदार छन्।

त्यसमा सुदर्शनप्रसाद कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत र जयराज सापकोटा प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

उनीहरूमध्ये पनि दुई जना डीआईजी एआईजीमा बढुवा हुन सक्ने सम्भावना रहेको छ।

हाल सुदर्शन कोइराला प्रहरीको कार्य विभागमा, दीपक रेग्मी बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा र जयराज सापकोटा कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन्।

एआईजीका ६ पद रिक्त भएपछि प्रहरी संगठनमा बढुवाको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। वरिष्ठता, कार्यसम्पादन र संगठनात्मक आवश्यकताका आधारमा हुने बढुवाले आगामी दिनमा प्रहरी नेतृत्वको समीकरणसमेत प्रभावित पार्नेछ।

सम्बन्धित समाचार