काठमाडौं । सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न जम्मा पाँच बीमा कम्पनी बाँकी रहेका छन् । १० जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले मात्रै सर्वसाधारणलाई आईपीओ जारी गरिसकेका छन् । अझै ५ जीवन बीमा कम्पनीहरुले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेका छैन । रिलायवल, सिटिजन, आइएमई, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न बाँकी छ । त्यस मध्ये महालक्ष्मी लाइफले भने नेप्सेमा सूचीकृत प्रभु लाइफसंग मर्जरमा जाने सम्झौता समेत गरेको छ । प्रभुसंग मर्जर सम्झौता गरेको महालक्ष्मीले भने एफपीओ निष्काशन गर्नेछ । लायवल लाइफ र सन नेपाल लाइफले भने प्रिमियम मूल्य सहित आईपीओ निष्काशन गर्ने तयारी छ । रिलायवल लाइफले ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सन नेपालले पनि बीमा समितिबाट प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति पाइसकेको छ । तर सन नेपाल भने आईपीओ निष्काशनको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छैन् ।
आइएमई लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले पनि धमाधम पूँजी बढाउने तयारी गरेका छन् । सन नेपाल, रिलायवल लाइफ, महालक्ष्मी लाइफले संस्थापकबाट पूँजी थपेका छन् ।
पाँच वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६ अर्ब ३१ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । यसमा सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब १ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै, रिलायवल लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम भने महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड ४६ लाख खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा चौथो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा अग्रता लिएको छ । यस अवधिमा रिलायबल लाइफले सबै भन्दा धेरै २४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफाको आधारमा दोस्रो स्थानमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सन नेपालले २१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, सिटिजन लाइफले पनि १८ करोड ८२ लाख रुपैयाँ, आइएमई लाइफले १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालक्ष्मी लाइफ इन्स्योरेन्सले भने सबैभन्दा कम ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
पाँच जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको सिटिजन लाइफले जीवन बीमा कोषलाई पनि मजबुत बनाएको छ । यता सबैभन्दा धेरै खुद नाफा कमाएको रिलायबल लाइफको जगेडा कोष बलियो देखिएको छ । स अवधिमा सिटिजन लाइफको जीवन बीमा कोषमा ५ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा ८७ करोड १६ लाख रुपैयाँ सञ्चित छ । यस्तै, आइएमई लाइफको जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ, रिलायवल लाइफको ४ अर्ब ६० करोड ४९ लाख रुपैयाँ र सन नेपालको ३ अर्ब ५१ करोड ५० लाख रुपैयाँ सञ्चित छ । जीवन बीमा कोषमा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सबैभन्दा कम २ अर्ब १२ करोड ८० लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ । जगेडा कोषतर्फ भने रिलायबल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । रिलायबल लाइफको जगेडा कोषमा १ अर्ब ९ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस्तै सिटिजन लाइफको जगेडा कोषमा ८७ करोड १६ लाख रुपैयाँ, आइएमई लाइफको ७७ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफको ५४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा पनि सबैभन्दा कम २६ करोड ८७ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ ।