काठमाडौं । इरानले आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गर्ने वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी क्षेत्रका मुलुकलाई पनि निशाना बनाइने चेतावनी दिएको छ।
बीबीसी फारसीका अनुसार अमेरिकाले हालै गरेको आक्रमणपछि इरानको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमै अमेरिकाले सम्झौताका अधिकांश प्रावधान उल्लंघन गरेको आरोप लगाएको छ। सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक विज्ञप्तिमा अमेरिकी आक्रमणले इरानको यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनामा क्षति पुर्याएको दाबी गरिएको छ। इरानले उक्त आक्रमणलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि छिमेकी राष्ट्रले आक्रमणकारी मुलुकलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न नदिनुपर्ने दायित्व रहेको उल्लेख गरेको छ।
साथै, इरानले आफ्नो विरुद्ध हुने कुनै पनि आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने मुलुक वा स्थानलाई आफ्नो सेनाले जवाफी कारबाहीको निशाना बनाउने चेतावनी दिएको छ।