काठमाडौं । थुप्रै असन्तुष्टि सार्वजनिक गरेर नयाँ वानेश्वरको संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभगत ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् । आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । यद्यपी आचार्यले आफ्नो सुसाइड नोटमा भने बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरु जसले बीमा गर्दिन भन्दा भन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४–५ लाख असुलेको आरोप लगाएका थिए । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड झापा शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । उनले भने, सामाजिक सञ्जालमा एक करोड भनिए पनि पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको छ । आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको थियो । नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले उनि दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए । आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ । सोहि अनुसार उनले यस अगाडि २ पटक ५ प्रतिशतकादरले फिर्ता पाइसकेका छन् । यस हिसावले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । तेस्रो किस्ता वापतको बीमा शुल्क चाही उनले नतिरेको कारण सोही तेस्रो वर्षको बीमा शुल्क रकम भने घट्छ । अरु बाँकी रकम भने उनको परिवारलाई कम्पनीले भुक्तानी गर्नेछ । कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । उक्त पोलिसी फाइल आइसके पछि मात्रै उनको परिवारले ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा जानकारी गराउनेछ । कम्पनीले दाबी भुक्तानी गर्दा नियम अनुसार आचार्यले भुक्तानी नगरेको तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस सहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ ।