free website hit counter

आजदेखि एनआरएनए महाधिवेशन

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । विभिन्न पेसा–व्यवसायको सिलसिलामा ८० लाख बढी नेपाली देश बाहिर रहेको छन् । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् । आफ्नो छाता संगठनको सांगठनिक सुदृढीकरण, नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णय महाधिवेशनमार्फत हुने भएकाले विदेशमा रहेका नेपालीहरूमा चटारो बढेको छ । सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं झरिसकेका छन् ।
होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुने बताइएकोृ छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महाधिवेशन उद्घाटन गरिने छ ।

नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पदमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, धेरैले आकांक्षा देखापछि अघिल्ला महाधिवेशन जस्तै यस पटक पनि रोचक चुनावी भिडन्त हुने भएको छ । अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा उत्रिएका छन् । पन्त वाम र आचार्य प्रजातान्त्रिकनिकट मानिन्छन् । दुवैले नयाँ नेतृत्वका लागि आफू योग्य भएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार तीव्र पारेका छन् ।

उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन् । उपाध्यक्षका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहे पनि खासगरी डा. बद्री केसी, सोनाम लामा, रवीना थापा, डा. केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पन्तको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका धर्मराज अधिकारी पनि कडा प्रतिस्पर्धी हुन् ।

महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित गर्नेछ । प्रत्येक क्षेत्रीय समितिबाट एक–एक गरी ६ जना क्षेत्रीय संयोजकहरु निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने एनआरएनएले जनाएको छ । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार