free website hit counter

आजदेखि रास्वपा महाधिवेशन

beemaadmin
२०८३ असार ७, आईतवार

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका सम्पूर्ण तयारी पूरा भएको उनले बताए।

प्रवक्ता झाका अनुसार महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरिएको थियो। राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधान संशोधनसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन्।

महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना तथा विधान संशोधनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। संशोधित प्रस्तावअनुसार केन्द्रीय समितिको आकार बढाएर १५१ सदस्यीय बनाइनेछ। हाल रास्वपामा १२१ सदस्यीय केन्द्रीय समिति रहेको छ।

नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहने व्यवस्था गरिएको छ।

यसपटक पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्न विधानमै व्यवस्था गरिएको छ। साथै, १५१ केन्द्रीय सदस्यमध्ये ५१ जना सदस्य सभापतिले मनोनयन गर्न सक्ने प्रस्ताव पनि गरिएको छ। खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने मनोनयन समावेशी सिद्धान्तका आधारमा गरिने जनाइएको छ।

रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्रमुख एजेन्डा बनाएको छ। साथै विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा समेत व्यापक छलफल हुने जनाइएको छ।

महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। पार्टीका अनुसार हाल रास्वपाको सदस्य संख्या पाँच लाख पुगेको छ। देशभरका ६१० पालिका र ४ हजार ६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने अधिकांश जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको पार्टीले जनाएको छ।

रास्वपाले पहिलो महाधिवेशनलाई संगठन विस्तार, आन्तरिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

सम्बन्धित समाचार