काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय आज (सोमबार) रातिसम्म मात्र पाउने भएका छन्। सोही दिन फागुपूर्णिमा परेकाले केही उम्मेदवारले सार्वजनिक सभाभन्दा आन्तरिक रणनीति र छलफललाई प्राथमिकता दिएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मतदान हुनुअघि ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहने यस अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार पूर्ण रूपमा रोक लगाइएको छ। सभा, सम्मेलन, गोष्ठी, अन्तर्क्रिया, मत माग्ने अभियानलगायतका गतिविधि सञ्चालन गर्न पाइने छैन।
आयोगले मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री मतदान हुनुभन्दा ४८ घण्टा अगावै हटाइसक्न निर्देशन दिएको छ। सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म, छापा तथा अन्य सञ्चार माध्यममार्फत उम्मेदवार वा दलको पक्ष–विपक्षमा सन्देश, पोस्ट, सेयर वा प्रतिक्रिया दिन पनि निषेध गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी गरिने प्रचारसमेत मौन अवधिमा प्रतिबन्धित हुनेछ।
सञ्चार माध्यम र पत्रकारलाई समेत विशेष सावधानी अपनाउन आयोगले आग्रह गरेको छ। मतदानअघिका ४८ घण्टामा दल वा उम्मेदवारसम्बन्धी विज्ञापन, टक शो, विश्लेषण, टिप्पणी तथा प्रश्नोत्तर कार्यक्रम प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी दिएका छन्। गम्भीर प्रकृतिको उल्लङ्घन भए उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने र त्यस्ता उम्मेदवारले आगामी छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी प्रावधान रहेको उनले बताए।
उनका अनुसार मौन अवधि उम्मेदवारका लागि आत्ममूल्यांकन र आगामी कार्ययोजना निर्माण गर्ने अवसर हो। मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने स्पष्ट योजना बनाउन यो समय उपयोगी हुने उनले उल्लेख गरेका छन्। साथै यस अवधिमा विशेष अनुगमनको व्यवस्था गरिएको र संवेदनशील क्षेत्रमा निगरानी कडाइका साथ बढाइएको आयोगले जनाएको छ।