free website hit counter

आज विश्व क्यान्सर दिवस : सातवटै प्रदेशमा लिनायक मेसिन राख्न माग

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौैं । प्रत्येक वर्ष फेब्रुअरी ४ का दिनलाई विश्व क्यान्सर दिवसका रुपमा मनाइने गरेको छ । नेपालमा सरकारी स्तरबाट यो दिवस मनाउन खासै चासो नदिए पनि निजी संघ संस्थाहरुले यो दिवसलाई चेतनामूलक कार्यक्रमका साथ मनाउँदै आएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाले पनि यो दिवस आज मंगलबार विशेष कार्यक्रमका साथ मनाउँदै छ । संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)ले संस्थाले यो दिवस सन् २००६ देखि नै मनाउन थालेको र त्यसपछि निरन्तर मनाइरहेको एवं यस वर्ष विशेष कार्यक्रमका साथ मनाउने बताउनुभयो ।

संस्थाका ४६ जिल्ला शाखाले पनि यो दिवस मनाउने कार्यतालिका छ । यो दिवसलाई संस्थाले नै नेपालमा पहिलो पटक मनाउन शुरु गरेको संस्थाका महासचिव विमल होडाले बताउनुभयो । यस पटकको क्यान्सर दिवसको नारा ‘म हुँ, म गर्छु’ भन्ने रहेको छ । युआईसीसी नामक गैर सरकारी संंस्थाको पहलमा विश्वमा यो दिवस मनाउन थालिएको हो । यो संस्थाले विश्वमा क्यान्सर घटाउन र समानजस्यता कायम गर्न, विश्व स्वस्थ्य र विकासका एजेन्डालाई क्यान्सर नियन्त्रणसँग जोड्दै एकीकृत पहल गर्दै आएको छ ।

संसारका समाज तथा व्यक्तिहरुलाई सहयोग पु¥याउन, सामूहिक आवाज उठाउन व्यक्तिगत प्रयास गर्ने र हाम्रो सरोकारलाई अझ बढी गर्नका लागि दबाव दिने काम विश्वस्तरमा हुँदै आएका छन् । उक्त संस्थाका उपाध्यक्ष महेश श्रेष्ठका अनुसार, विश्वमा हरेक वर्ष ९.३ लाख भन्दा बढी नागरिकहरु विभिन्न क्यान्सरबाट मृत्यु हुने गरेको छ भने विश्वमा क्यान्सर दोस्रो प्राणघातक रोगको रुपमा रहेको छ । यसलाई रोकथाम गर्न विभिन्न कार्यक्रमहरु विश्वस्तरमा सञ्चालित भए पनि पूर्ण नियन्त्रण भने गर्न सकिएको छैन । क्यान्सर रोकथाम र नियन्त्रणका लागि नेपालमा नेपाल अर्बुद रोग निवारण संस्थालगायत अन्य संघसंस्थाले पनि विविध कार्यक्रम गर्दै आएका छन् । क्यान्सर विशेषज्ञहरुबाट मात्रै क्यान्सरको उपचार हुनुपर्नेमा नेपालमा कतिपय अस्पतालहरुमा क्यान्सर विशेषज्ञता हासिल नगरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट पनि यसको परिक्षण तथा उपचार हुने कार्य तत्काल रोक्नका लागि सरकारसँग माग गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले मेडिकल काउन्सिलको समेत ध्यानाकर्षण गराउनुभएको छ । उहाँले विश्व क्यान्सर दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै सातवटै प्रदेशमा लिनायक मेसिन स्थापना गर्न सरकारी तथा निजी क्षेत्रबाट पहल हुनुपर्नेमा ध्यानकर्षण गराउनभुएको छ । उहाँले संस्थाको विशेष पहलमा शुरु भएको सिराहामा क्यान्सर केयर सेन्टरको विकासका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने माग गर्नुभएको छ ।

सम्बन्धित समाचार