free website hit counter

आज सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक हुने

beemaadmin
२०८३ बैशाख २८, सोमबार

संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।

संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

Advertisement
Advertisement

संविधानमा प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ।

Advertisement
Advertisement

राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन संसद् सचिवालयले आग्रह गरेको छ। यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाइनेछ। साथै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना पनि सदनलाई जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली–२०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ।

यस अधिवेशनमा सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि संसद्मा प्रस्तुत गरिनेछन्। तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ प्रमुख छन्। संसद् सचिवालयका अनुसार यी अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिनेछ।

सम्बन्धित समाचार