एजेन्सी । घरमा ल्याएर पालेको कुकुरलाई पनि चटक्कै छाड्न सकिँदैन । चीनमा एक चिनियाँले आफ्नो पाँच वर्षे छोरालाई वद्यालयमा नै छाडिदिएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार आफ्नो छोरा होइन भन्ने थाहा पाएपछि ती व्यक्तिले छोरालाई विद्यालयमा नै छाडिदिएका हुन्।
छद्मनाम ‘सिआओ रुई’ गरेका ती बालकलाई गत साता उनका बाबुले विद्यालयमा छाडेका थिए। तर, कक्षा सकिएपछि पनि उनी लिन भने आएनन्। बच्चालाई लिन कोही पनि नआएपछि विद्यालयले अभिभावक र आफन्तलाई फोन गरेको थियो तर कोही पनि उनलाई लिन आएनन्। समाचारमा उल्लेख गरिएअनुसार सिआओ रुई गत अप्रिलमा विद्यालयमा भर्ना भएका थिए।
त्यसयता उनलाई बाबुले नै विद्यालय ल्याउने र लैजाने गर्थे। तर, डीएनए परीक्षणमा सिआओ आफ्नो बच्चा नभएको थाहा पाएपछि बाबुले विद्यालयमा लगेर उनलाई छाडिदिएका हुन्।
विद्यालयका कर्मचारीले सिआओलाई उसकै घरमा लैजाँदा घर खाली गरेर उनका बाबु हिँडेका थिए। बाबुको पहिचान भने गोप्य राखिएको छ।
अहिलेसम्म बालककी आमा कहाँ छिन् भन्ने खुल्न सकेको छैन। चिनियाँ नियमअनुसार यसरी बेवारिसे छाडेर हिँडेपछि आफ्नै छोरा नभएकाले बाबुलाई मुद्दा नलागे पनि आमालाई भने मुद्दा लाग्न सक्छ।