काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बिक्री आम्दानी, कुल नाफा तथा खुद नाफासहित प्रमुख वित्तीय सूचकमा सुधार देखिएको छ।
कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँको तुलनामा सञ्चालन आम्दानी ७.५६ प्रतिशतले बढेको हो।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको कुल नाफा १५.६२ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल नाफा २ अर्ब रुपैयाँ थियो।
नाफा वृद्धिमा वित्तीय खर्चमा आएको कमीले समेत योगदान गरेको छ। कम्पनीको वित्तीय खर्च २९ करोड ६२ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँ मा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ र पुनर्मूल्याङ्कन कोषमा ३३ करोड ६८ लाख रुपैयाँ रहेको छ। यससँगै कम्पनीको कुल इक्विटी १० अर्ब ४३ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
यस्तै, कम्पनीको दीर्घकालीन ऋण २ करोड २९ लाख रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण अघिल्लो वर्षको ३ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति १६ अर्ब ६० करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २० पैसा र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा कायम भएको छ।
प्रतिकूल आर्थिक वातावरण र उच्च उत्पादन लागतका बाबजुद सञ्चालन आम्दानी १० अर्ब रुपैयाँभन्दा माथि पुर्याउँदै खुद नाफामा वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ। लागत नियन्त्रण र भारतीय बजारमा निर्यात विस्तारलाई आगामी दिनमा नाफा वृद्धि गर्ने प्रमुख आधारका रूपमा हेरिएको छ।