काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ गते १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा अहिले ६ वटा वस्तुको आयात खुल्ला गरेको छ । भदौ १५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग मन्त्रालयले १० मध्ये ६ वस्तुको आयात खुला गरेको छ भने बाँकी चारवटाको असोज २८ गतेसम्मका लागि प्रतिबन्ध कायमै राखेको छ । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु निकट स्रोतकाअनुसार विदेशी मुद्राको सञ्चिती बढ्दै गएको सन्दर्भमा क्रमिक रुपमा आयात खुलाउने सरकारको रणनीति अन्तर्गत छ वटा वस्तुको आयात खुल्ला गरिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको टोलीले गरेको अध्ययनका आधारमा प्रतिबन्ध खुला गरिएको भए पनि धेरैले यसमा उद्योग मन्त्रालयको मनमौजी निर्णय लिएको भनेर आरोप लगाए पनि त्यसमा सत्यता नभएको उद्योग मन्त्रालयका एक अधिकारीले बताएका छन् । अहिले खुला गरिएका वस्तुहरुमा तास, कुरमुरे, लेज, चिजबल, हिरा, सूर्ति–चुरोटजन्य वस्तु, सबै प्रकारका खेलौना र रंगिन टेलिभिजन रहेका छन् । प्रतिबन्ध यथावत रहेका वस्तुहरुमा विदेशी ब्राण्डका मदिरा, सवारी साधन, १५० सिसी इन्जिन क्षमताभन्दा माथिका मोटरसाइकल र स्मार्टफोन रहेका छन् । उद्योग मन्त्रालयले निर्यात बढाउने उद्योगलाई प्रवद्र्धन गर्न सोही किसिमको रणनीतिलाई कार्यान्वयन गर्दै आएकोमा हाल स्वदेशमा उत्पादन नहुने वस्तुहरुलाई नेपालको बजार मागका आधारमा प्रतिबन्ध खुला गर्नु अनर्थ नभएको स्रोतको दाबी छ ।
तास सामान्यतया चाडपर्वका बेला पारिवारिक मनोरञ्जनका लागि मात्रै नेपालमा खेलिँदैन, नेपालमा रहेका दर्जन बढी क्यासिनोहरु सञ्चालनका लागि दैनिकजसो आवश्यक पर्ने वस्तु हो । तासको आपूर्ति हुन नसक्दा क्यासिनो सञ्चालनमा समेत समस्या हुँदै गएको यथार्थ अवस्था हो । यही मागलाई लिएर क्यासिनो सञ्चालकहरुले उद्योग मन्त्रालय लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । पछिल्लो समय योजना आयोगका उपाध्यक्ष पौडेल नेतृत्वको टोलीले समेत तासलगायत छ वटा वस्तु आयात गर्न उपयुक्त छ भन्ने सुझावका आधारमा उद्योग मन्त्रालयले प्रतिबन्ध हटाएको हो । निजी क्षेत्रको व्यवसायलाई प्रोत्साहन गर्दै उपभोक्ताको मागलाई पूरा गर्नु पर्ने दायित्व पनि सरकारकै भएका कारण उक्त निर्णय आएको बताइएको छ ।