free website hit counter

आर्थिक चुनौतीबीच जीवन बीमा कम्पनीले संकलन गरे २ खर्बभन्दा बढी बीमाशुल्क

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । मुलुकको अर्थतन्त्र अझै सुस्त रहेको, लगानी विस्तारमा कमी, उपभोग घट्दो र बजारमा तरलता तथा आर्थिक गतिविधि अपेक्षाकृत कमजोर रहेका बेला पनि नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब १ करोड ९१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले असार मसान्तसम्म १ करोड १८ लाख ५० हजार ३९१ वटा बीमालेख बिक्री गरी २ खर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन्। आर्थिक मन्दीका कारण अधिकांश क्षेत्रको व्यापार र नाफा प्रभावित भइरहेका बेला जीवन बीमा क्षेत्रमा देखिएको यो वृद्धि उद्योगकै लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार कठिन आर्थिक अवस्थामा पनि नागरिकले दीर्घकालीन वित्तीय सुरक्षा र जोखिम व्यवस्थापनप्रति विश्वास कायम राखेकै कारण बीमाशुल्क संकलन उच्च रहन सफल भएको हो। यसले बीमा क्षेत्रको विस्तारसँगै सर्वसाधारणमा बीमाप्रतिको चेतना पनि क्रमशः बढिरहेको देखाएको छ।

बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सले सबै कम्पनीलाई पछि पार्दै ५३ अर्ब ६८ करोड रुपैयाँ संकलन गरेको छ। नेशनल लाइफ इन्स्योरेन्स २४ अर्ब ६८ करोड रुपैयाँसहित दोस्रो र एलआईसी नेपाल २१ अर्ब २३ करोड रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी हिमालयन लाइफले १८ अर्ब ५६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड रुपैयाँ, एशियन लाइफले १० अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड रुपैयाँ, सिटिजन लाइफले ९ अर्ब १६ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड रुपैयाँ, आईएमई लाइफले ७ अर्ब ५४ करोड रुपैयाँ, मेट लाइफले ६ अर्ब ८६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

विश्लेषकहरूका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा कर्जा विस्तार सुस्त, निजी क्षेत्रको लगानी घट्दो र समग्र अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि जीवन बीमा कम्पनीहरूले व्यवसाय विस्तार गर्न सफल हुनु क्षेत्रको परिपक्वता र संस्थागत क्षमता दुवैको संकेत हो। डिजिटल सेवा विस्तार, नयाँ बीमा योजनाहरू, अभिकर्ता सञ्जालको विस्तार तथा जोखिमप्रति नागरिकको बढ्दो सचेतनाले बीमा व्यवसायलाई मजबुत बनाएको उनीहरूको भनाइ छ।

बीमा प्राधिकरणको तथ्यांकले आर्थिक चुनौतीका बीच पनि जीवन बीमा उद्योगले उल्लेखनीय लचकता (Resilience) देखाएको पुष्टि गरेको छ। २ खर्बभन्दा बढी बीमाशुल्क संकलनको यो उपलब्धिले जीवन बीमा क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण र स्थिर वित्तीय क्षेत्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।

सम्बन्धित समाचार