काठमाडौं । अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध आफ्नो परम्परागत होम जर्सीको सट्टा निलो (अवे) जर्सी लगाएर खेल्ने भएको छ। टोलीको विशेष अनुरोधलाई फिफाले स्वीकृति दिएपछि अर्जेन्टिनाले ऐतिहासिक महत्व बोकेको जर्सी पुनः प्रयोग गर्ने अवसर पाएको हो।
यससँगै अर्जेन्टिनाले सन् १९८६ र १९९८ को विश्वकपमा इङ्ग्ल्यान्डलाई पराजित गर्दा लगाएको जस्तै निलो जर्सीमा मैदान उत्रिनेछ। अर्जेन्टिनाले २०२२ को कतार विश्वकपको फाइनल भने आफ्नो परम्परागत निलो–सेतो होम जर्सीमै जितेको थियो। तर इङ्ग्ल्यान्डविरुद्ध १९६६ र २००२ को विश्वकपमा यही जर्सी लगाउँदा टोली पराजित भएको थियो।
अर्जेन्टिनी सञ्चारमाध्यम टीएनका अनुसार फिफाको स्वीकृतिपछि समर्थकमाझ उत्साह थपिएको छ। अर्जेन्टिनाले यस विश्वकपमा गाढा निलो अवे जर्सी हालसम्म एकपटक मात्र प्रयोग गरेको थियो, जहाँ समूह चरणमा जोर्डनलाई पराजित गरेको थियो।
फिफाले सेमिफाइनलका लागि दुवै टोलीको पोशाक पनि सार्वजनिक गरेको छ। अर्जेन्टिना निलो जर्सीमा खेल्दा इङ्ग्ल्यान्ड भने पूर्ण सेतो (अल ह्वाइट) पोशाकमा मैदान उत्रिनेछ।
इङ्ग्ल्यान्डले यसअघि क्वार्टरफाइनलमा नर्वे र राउन्ड अफ ३२ मा डीआर कङ्गोविरुद्ध पनि सेतो जर्सी र सेतो सर्ट्स प्रयोग गरेको थियो। राउन्ड अफ १६ मा आयोजक मेक्सिकोसँगको खेलमा भने रंग नमिलेका कारण सेतो जर्सीसँग निलो सर्ट्स लगाएको थियो।
सन् १९९८ को विश्वकपमा अर्जेन्टिनासँगको नकआउट खेलमा पनि इङ्ग्ल्यान्ड पूर्ण सेतो पोशाकमा खेलेको थियो। निर्धारित र अतिरिक्त समयसम्म २–२ को बराबरीमा सकिएको उक्त खेल अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जितेको थियो।
टीएनले अर्जेन्टिनी समर्थकहरूले उल्लेख गरेका केही रोचक संयोग पनि सार्वजनिक गरेको छ। सन् १९८६ र १९९८ मा अर्जेन्टिना समूह चरणमा अपराजित रहँदै इङ्ग्ल्यान्डसँगको भेटसम्म पुगेको थियो। यसपटक पनि टोली अपराजित रहँदै सेमिफाइनल पुगेको छ।
यस्तै, १९८६ र १९९८ दुवै विश्वकपमा इङ्ग्ल्यान्डसँग खेल्नुअघि अर्जेन्टिनाका एक डिफेन्डरले गोल गरेका थिए। यस संस्करणमा पनि नकआउट चरणमा लिसान्द्रो मार्टिनेज र क्रिस्टियन रोमेरोले गोल गरिसकेका छन्।
उता, इङ्ग्ल्यान्डले १९६६ मा अर्जेन्टिनाविरुद्ध सेतो पोशाकमा खेल्दा जित निकालेको थियो भने २००२ मा डेभिड बेकह्यामको पेनाल्टी गोलमा रातो जर्सी लगाएर विजयी बनेको थियो। प्रशिक्षक थोमस टुखेलको टोलीले यस विश्वकपमा रातो जर्सी हालसम्म एकपटक मात्रै प्रयोग गरेको छ, जहाँ समूह चरणमा पानामालाई पराजित गरेको थियो।
यसैबीच, फिफाले अर्को सेमिफाइनलको जर्सी संयोजन पनि सार्वजनिक गरेको छ। फ्रान्स निलो जर्सी र सेतो सर्ट्समा खेल्नेछ भने स्पेन सेतो जर्सी र रातो सर्ट्समा मैदान उत्रिनेछ।