free website hit counter

इजरायल रोजगारीको लागि चैतमै हुन्छ आवेदन सुरु

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाडौं। नेपाली युवाको आकर्षक श्रमबजार इजरायलमा श्रमिक पठाउने सम्बन्धमा कार्यविधि यसै महिनामा तयार हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतमणि पाण्डेले कार्यविधि तयार भइसक्नासाथ आवेदनका लागि आह्वान गरिने जनाएका छन्। कार्यविधि सरोकारवालाहरुसँग छलफलका लागि पठाएको प्रवक्ता पाण्डेले बताएका छन्। उनका अनुसार अन्य सबै कामहरु सकिएको तर कार्यविधिअन्तर्गत कसरी युवा पठाउने, कसरी अन्तर्वार्ता लिने, समग्रमा युवा छान्नको लागि कस्ता नियमहरु अपनाउने लगायतका विषयमा निर्णय हुन बाँकी छ। त्यसैगरी, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि बन्दै गरेकाले आवेदनमा ढिला भएको बताएका छन्।

उनका अनुसार कार्यविधि सम्बन्धमा लगातार छलफल भइरहेको छ। त्यस्तै, उनले आवेदन माग गर्ने सफ्टवेयर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जनाएका छन्। उनका अनुसार आन्तरिक कार्यविधि पूरा भइसकेपछि अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गरिने छ। इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले इजरायलसँग भएको श्रमिक सम्झौतानुसार श्रमिक छिटो ल्याउन दिनदिनै ताकेता गरिरहेको बताएकी छन्। पारिश्रमिक र सुरक्षाका हिसाबले निकै आकर्षक मानिएको इजरायलसँग गरिएको उक्त सम्झौता अन्य कारणले नरोकिने डा. शाक्यले बताएकी छन्। यो सम्झौता नर्सको लागि नभएको र नर्सको लागि छुट्टै कार्यविधिहरु अगाडि बढाउनेतिर लागिपरेको समेत डा. शाक्यले बताइन्।

उनले भनिन्, यो त नर्स नभएकाहरु, नर्स बन्न नसकेकाहरु, नर्स बन्न लागेकाहरु जसले काम गर्न नपाएकाको लागि अवसर हो। उहाँहरुले यहाँ पाँच वर्ष काम गर्नु भयो भने यहाँको धेरै टेक्नोलोजीहरुसम्बन्धी समेत ज्ञानहरु लिएर जानुहुन्छ। इजरायलमा रोजगारीका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता गत असोजमा भएपनि प्रोटोकलमा भने गत माघमा हस्ताक्षर भएको थियो। इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सम्झौतामा गत माघ ८ गते हस्ताक्षर गरेका थिए। नेपाली श्रमिक सरकारी सयन्त्रमार्फत अर्थात् जीटुजीमार्फत इजरायल रोजगारीमा पठाउने गरी हस्ताक्षर भएको छ। प्रोटोकलअनुसार इजरायलमा महिला र पुरुष गरी पाँच सय नेपाली कामदार जानेछन्।

सम्बन्धित समाचार