free website hit counter

इनम सापकोटासँगको सम्बन्धबारे अनुसन्धानका क्रममा सुशील भट्ट पक्राउ

beemaadmin
२०८३ कार्तिक २, आईतवार

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सम्बन्ध रहेको बताइएका इनम सापकोटासँगको सम्पर्क र गतिविधिबारे अनुसन्धान गर्ने क्रममा भट्टलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार सापकोटाको बयान, टेलिफोन सम्पर्क तथा अन्य गतिविधिको अनुसन्धान गर्दा भट्टको संलग्नताबारे थप अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले सापकोटासँग भट्टको सम्बन्ध देखिएको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।

Advertisement
Advertisement

सुशील भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कारागारमा रहेका दीपक भट्टका दाजु हुन्। स्रोतका अनुसार सापकोटाले कारागारमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासमा भूमिका खेलेको आशङ्का गरिएको छ। नख्खु कारागारमा रहेका दीपक र सापकोटाबीच टेलिफोन सम्पर्क भएको विषयलाई पनि अनुसन्धानमा समेटिएको बताइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै स्रोतले राणा, सापकोटा र दीपक भट्टबीचको सम्पर्कमा सुशील भट्टको भूमिका पनि देखिएको दाबी गरेको छ। यद्यपि, यस विषयमा अनुसन्धानको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

मुद्दा मिलाउने नाममा रकम लेनदेन भएको आशङ्का

स्रोतका अनुसार कारागारमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासका क्रममा ठूलो रकमको लेनदेन भएको हुन सक्ने आशङ्कामा अनुसन्धान भइरहेको छ। उनी छुटेपछि राजनीतिक गतिविधिमा संलग्न गराउने योजनासमेत रहेको दाबी स्रोतले गरेको छ। यी विषयमा सम्बन्धित निकायको अनुसन्धान जारी रहेको बताइएको छ।

राणा र सापकोटासँग जोडिएको भनिएको मुद्दा मिलाउने प्रयास तथा सम्भावित आर्थिक कारोबारबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ।

यसै अनुसन्धानको सिलसिलामा केही दिनअघि दीपक तिमिल्सिना, नवराज थपलिया र नारायण दाहाललगायतका व्यक्तिको घरमा छापा मारिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सापकोटासँग सम्बन्धित आर्थिक कारोबारमाथि पनि अनुसन्धान भइरहेको छ। केही उद्योगीले उनको खातामा रकम पठाएको विवरण फेला परेको दाबी गर्दै अनुसन्धानमा संलग्न पक्षले उक्त रकमको उद्देश्य र सम्भावित सम्बन्धबारे छानबिन गरिरहेको बताइएको छ।

प्रहरी तथा अनुसन्धान निकायबाट यस प्रकरणका सबै आरोप र आर्थिक कारोबारबारे आधिकारिक निष्कर्ष सार्वजनिक हुन बाँकी छ। पक्राउ पर्नु वा अनुसन्धानमा नाम जोडिनु आफैँमा कसुर प्रमाणित हुनु होइन।

सम्बन्धित समाचार