free website hit counter

‘इरानले ट्रम्पलाई निशाना बनाउने योजना बनाएको’ दाबी

beemaadmin
२०८३ असार २६, शुक्रबार

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको दाबी सार्वजनिक भएको छ। अमेरिकी दैनिक द वाल स्ट्रिट जर्नलका अनुसार उक्त योजनासम्बन्धी खुफिया सूचना इसराइलले हालै वासिङ्टनलाई उपलब्ध गराएको हो।

यदि यो दाबी पुष्टि भएमा अमेरिका र इरानबीचको तनाव थप चर्किने विश्लेषण गरिएको छ। यद्यपि, यसबारे इसराइली दूतावास र संयुक्त राष्ट्रसंघस्थित इरानी नियोगले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

राष्ट्रपति ट्रम्पले पनि टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए।

उनले भनेका थिए, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको हरेक सूचीमा छु। आज बिहान पनि त्यही देखें। अहिलेसम्म म केही भाग्यमानी भएको हुन सक्छु, तर त्यो भाग्य कति समय टिक्छ भन्न सकिँदैन।”

ह्वाइट हाउसले पनि खुफिया सूचनासम्बन्धी विषयमा ट्रम्पको सार्वजनिक अभिव्यक्तिलाई नै आधिकारिक धारणा मानेको जनाएको छ।

इरानले सन् २०२० मा अमेरिकी आक्रमणमा मारिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का शीर्ष कमान्डर कासिम सुलेमानीको हत्याको बदला ट्रम्पसँग लिने चेतावनी विगतदेखि नै दिँदै आएको छ।

यसैबीच, फेब्रुअरी २८ मा अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा गरेको आक्रमणमा पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च अधिकारीहरू मारिएको इरानी पक्षको दाबी छ। त्यसपछि आयोजित खामेनीको अन्त्येष्टिमा सहभागी केही समर्थकहरूले ट्रम्पविरुद्ध नाराबाजी गर्दै ‘हामी ट्रम्पलाई मार्नेछौँ’ लेखिएका ब्यानरसमेत प्रदर्शन गरेका थिए।

उता, टर्कीबाट अमेरिका फर्किने क्रममा राष्ट्रपति ट्रम्पले अतिरिक्त सुरक्षा सतर्कता अपनाएका थिए। द न्यूयोर्क टाइम्सका अनुसार उनले कतारले उपहारस्वरूप दिएको बोइङ ७४७–८ प्रयोग नगरी पुरानै ‘एयर फोर्स वान’ विमानबाट यात्रा गरेका थिए। यो निर्णय अमेरिकी सिक्रेट सर्भिसको सुरक्षा सल्लाहका आधारमा गरिएको बताइएको छ।

समाचारअनुसार विमान परिवर्तन कुनै निश्चित आक्रमणको सूचनाका कारण नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर अपनाइएको सुरक्षात्मक उपाय थियो।

ट्रम्पले नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्की जाँदा कतारी राजपरिवारले पहिले प्रयोग गरेको विलासी बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर उनी टर्की पुगेपछि अमेरिका–इरान तनाव पुनः चर्किएपछि उक्त विमान सम्भावित निशानामा पर्न सक्ने सुरक्षा मूल्यांकनका आधारमा फर्किने क्रममा अर्को विमान प्रयोग गरिएको बताइएको छ।

सम्बन्धित समाचार