काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही थप विस्तार गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको थियो। चार जना रिपब्लिकन सांसदले डेमोक्रेटिक सांसदहरूको समर्थन गर्दै प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो।
अमेरिकी संसदमा युद्ध तथा सैन्य हस्तक्षेपासम्बन्धी विषयमा यति स्पष्ट रूपमा दलगत मतभेद देखिनु दुर्लभ मानिन्छ। अमेरिकाले यस वर्षको फेब्रुअरीदेखि इरानविरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ। राष्ट्रपति ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने उद्देश्यले प्रतिनिधिसभाले गरेको यो चौथो प्रयास हो।
प्रस्तावका समर्थकहरूले राष्ट्रपति ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही अघि बढाउँदा आवश्यक संसदीय स्वीकृति नलिएको आरोप लगाएका छन्।
यद्यपि प्रतिनिधिसभाबाट पारित भएको उक्त प्रस्तावले अझै रिपब्लिकन बहुमत रहेको सिनेटको अनुमोदन प्राप्त गर्न बाँकी छ। विश्लेषकहरूका अनुसार सिनेटबाट पारित भए पनि यसले इरानविरुद्ध जारी सैन्य अभियान पूर्ण रूपमा रोक्ने सम्भावना भने न्यून छ।
राष्ट्रपति ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्ने संवैधानिक अधिकार राख्छन्। यस्तो अवस्थामा भिटोलाई निष्प्रभावी बनाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुई–तिहाइ बहुमत आवश्यक पर्नेछ।
यसअघि मे महिनामा सिनेटले पनि यस्तै प्रकृतिको प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाएको थियो। सात पटक असफल प्रयास भएपछि उक्त प्रस्तावले आवश्यक समर्थन जुटाएको भए पनि हालसम्म सिनेटको पूर्ण बैठकमा त्यसबारे अन्तिम मतदान हुन सकेको छैन।