काठमाडौं । लगातार लकडाउनमा मुलुक छ । कोरोना विरुद्ध सिंगो देश एकढिक्का भएको छ । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध पनि वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने निर्णय भइसकेको छैन । यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् । त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।