काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित ‘एडीएम ३६० डिग्री ग्रोथ समिट १.०’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको कार्यक्रममा देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
एजेन्सी नेतृत्व क्षमता विकास, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालले गरेका थिए भने प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरूले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना, लक्ष्य प्राप्ति तथा व्यवसाय वृद्धिसम्बन्धी विशेष प्रस्तुति दिएका थिए ।
उनीहरूले एजेन्सी पेशालाई सम्मानित, सम्भावनायुक्त तथा दीर्घकालीन करियरका रूपमा विकास गर्न सहभागीहरूलाई प्रेरित गरेका थिए ।
त्यसैगरी, प्रमुख ग्राहक अनुभव तथा संरक्षण अधिकृत सचेत श्रेष्ठ, लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, लिड ट्रेनिङ अफिसर भुवन सिंह मगर तथा ब्रान्ड एण्ड कम्युनिकेसन प्रमुख सोमेश लाल जोशीले ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, ब्रान्ड निर्माण, भर्ती रणनीति तथा व्यवसाय प्रवर्द्धनका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कम्पनीका विभिन्न प्रदेश प्रमुख तथा क्षेत्रीय प्रबन्धकहरूको समेत सहभागिता रहेको थियो । सहभागीहरूले ‘एजेन्सी करियर बबाल छ’ भन्ने नाराले आफूहरूमा नयाँ ऊर्जा, आत्मविश्वास तथा व्यवसायप्रतिको दृष्टिकोण थप सशक्त बनाएको प्रतिक्रिया दिएका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि एजेन्सी संरचनालाई थप सुदृढ, व्यवसायमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।