एजेन्सी । कोरोनाको संक्रमण विश्वभरि फैलिइरहेको बेला उत्तर कोरियमा पनि यसको असर देखिन थालेको छ । त्यसैको असरस्वरुप उत्तर कोरियामा रहेका विदेशी कुटनीतिक नियोगका व्यक्तिहरु धमाधम स्वदेश फर्किन थालेका छन् । यही बेला उत्तर कोरियामा कोरोनाको महामारी फैलिएमा समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । कोरोना संक्रमित व्यक्तिलाई गोली हानी हत्या गरिएको भन्ने समाचार सामाजिक सञ्जालमा आइरहेको बेला उत्तर कोरियामा सयभन्दा बढी सैनिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको र हजारौं मानिस क्वारेन्टाइनमा रहेको बताइएको छ । तर, कोरियाका अधिकारीहरुले आफ्नो देशमा कोरोना संक्रमण नदेखिएको भन्दै यो समाचार अस्वीकार गरिरहेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सी डेली एनकेले कोभिड–१९ बाट जनवरी र फेब्रुअरीमा १ सय ८० उत्तर कोरियाली सेनाको ज्यान गएको र ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । डेली एनकेले उत्तर कोरियाका विभिन्न अस्पतालबाट तथ्यांक संकलन गरेको बताएको छ । सेनाका विभिन्न भागमा सेवा पुर्याइरहेका अस्पतालहरुलाई उनीहरुको हेरचाहमा रहेका सैनिकको संख्या र निमोनिया, क्षयरोग, दम र रुघाखोकीका साथै क्वारेन्टाइनमा राखिएका र मृत्यु भएकाको पनि तथ्यांक माग्न भनिएको थियो । अस्पतालहरुले दिएको तथ्यांकअनुसार ती सैनिकको मृत्यु भएको बताइएको हो ।
दक्षिण कोरियाली सरकार समर्थित न्युज एजेन्सी योन्हापले करिब १० हजार मानिस क्वारेन्टाइनमाा रहेको र ४ हजारमा कुनै लक्षण नदेखिएपछि रिहा गरिएको उल्लेख गरेको छ । तर ,उत्तर कोरियाली सरकारले यसलाई अस्वीकार गर्दै आएको छ । ‘उक्त संक्रमित रोग अहिलेसम्म हाम्रो देशमा फैलिएको छैन’ उत्तर कोरियाका अधिकारी रोडोंग सिनमुनलाई उधृत गर्दै न्यूजविकले लेखेको छ । मंगलबारसम्म विश्वभर करिब १ लाख १२ हजार मानिसमा संक्रमण देखिएको छ भने ४ हजारको मृत्यु भइसकेको छ । (एजेन्सी)