free website hit counter

उत्पादन तथा प्रशोधन क्षेत्रका सेयर

beemaadmin
२०७६ पुष १३, आईतवार

नेपालमा उत्पादन तथा प्रशोधनसम्वन्धी उद्योगहरूको सङ्ख्या उल्लेख्य भए तापनि नेपाली सेयर बजारमा सुचीकृत कम्पनीको सङ्ख्या नेपाल स्टक एक्सचेन्ज लिको आधिकारिक साइटमा उल्लेख भए अनुसार १९ मात्र छन् । त्यसमा पनि सेयर बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रमा लगानी गरेको सेयरमा युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिभम सिमेन्ट, कोकाकोला(तराई) तथा कोकाकोला –बालाजु) कम्पनीले मात्र राम्रो प्रतिफल दिदै आएको छ ।

बाँकी कम्पनीहरू कुनै सञ्चालनमा नै छैनन् भने कुनै रुग्ण अवस्थामा भएकोले सेयर लगानीकर्ताले आफ्नो लगानीको उचित प्रतिफल पाउने अवस्था देखिदैन । नेपाली सेयर बजारमा सुचीकृत अन्य कम्पनीहरूमा श्रीराम सुगर मिल्स, भृकुटी कागज कारखाना लि.रघुपति जुट मिल्स, नेपाल वनस्पति ध्यू उद्योग, नेपाल ब्लुव आयल, नेपाल खाद्य उद्योग लि, नेपाल विटुमिन एण्ड व्यारल उद्योग, विराट सु, अरुण वनस्पति उद्योग लि, ज्योति स्पिनिङ्ग मिल्स, हरिसिद्धि इटा टायल कारखाना लि, गोरखकाली रबर उद्योग लि, फ्लोर हिमालयन लि, वुटवल स्पिनिङ मिल्स आदि रहेका छन् । सेयर लगानीकर्ताको यस्ता सबै नै उद्योगमा निकै ठूलो धनराशी डुबेको छ ।

यस्तो अवस्थामा सरकारले उत्पादनमूलक क्षेत्रको सेयरलाई बढावा दिन्छु भनेर मात्र हुँदैन । नीनिगत रुपमा नै बजारमा उत्पादन तथा प्रशोधनमूलक क्षेत्र कम्पनीहरू फस्टाउन सक्ने वातावरण निर्माण जरुरी छ । जसका लागि सर्बप्रथम बलियो प्रत्यक्ष नियमनकारी निकायको स्थापना पनि एक हो । यस क्षेत्रको विगतको अनुभवलाई हेर्ने हो भने सरकारको नीति भन्दा पनि व्यवसायिक क्षेत्रका व्यक्तिको पनि बदमासी सहजै देख्न सकिन्छ । राम्रो चलेको र फाइदा भएको व्यवसाय प्रा. लिमा नै सञ्चालन गर्ने तर जोखिम बढी भएको र जनताको पैसा चलाएर परीक्षण गर्ने जस्ता व्यवसायको भने साधारण सेयर निष्काशन गर्ने पाइएको छ । कतिपय उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरू त जानाजानी नै डुबाइएको पाइएको छ ।

यस्तो सन्दर्भमा विविध पक्षलाई समेटेर त्यसको सुधारका साथ बजारमा उत्पादन तथा प्रशोधनमूलक क्षेत्रको सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने देखिएको छ । विश्व सेयर बजारमा विश्लेषकहरू बजार जाउँ कुन सामान बढी विक्री हुन्छ हेर अनि त्यहि कम्पनीको सेयर खरिद गर भन्ने सल्लाह दिनुहुन्छ । तर नेपालको सन्दर्भमा यो कुरा लागू हुँदैन नेपाली सेयर बजारमा राम्रो नियमनकारी निकाय भएकोले बैंक तथा वित्तीय सस्था अनि बिमा कम्पनीको सेयरमा नै लगानीकर्ताको विश्वास रहेको छ । उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीका धेरै सञ्चालकहरूले नेपाली लगानीकर्ताको पैसामा चलखेल गरेकै कारण यस क्षेत्रको सेयरमा लगानीकर्ताको आकर्षण खासै हुन सकेको पाइदैन ।

उत्पादन तथा प्रशोधन क्षेत्रको अग्रता बनाएको कम्पनी त्यतिमात्र होइन नेपाली सेयर बजारमा नै सबैभन्दा बढी मूल्य प्रतिकित्ता कारोबार हुँदै आएको कम्पनी युनिलिभरको आर्थिक स्वास्थ्यको लेखाजोखा यस प्रकारको रहेको छ ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लि
© बजार मूल्य प्रतिकित्ता २०७६–०९–०८– १८ हजार ९४१ रुपियाँ
©सूचीकृत सेयर – ९,२०,७०० कित्ता सेयर
© नफा आब ०७५–७६ को नाफा : एक अर्ब ६ करोड ६६ लाख रुपियाँ
© आर्थिक बर्ष ०७५–७६ को मुनाफाबाट ७७० रुपियाँ प्रतिकित्ता नगद लाभांश प्रस्ताव ।
© चालू आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीको नाफामा २६ दशमलब ३७ प्रतिशतको गिरावट आएर २४ करोड ६३ लाख कमाएकोा छ जुन अधिल्लो बर्षको सोही अवधिमा ३३ करोड ४५ लाख रहेको थियो ।
© कम्पनीको प्रतिसेयर आम्दानी एक हजार ६१ रुपियाँ बार्षिक रहेको छ भने मूल्य आम्दानी अनुपात १९ गुणा रहेको छ ।
© किताबी मूल्य दुई हजार ७९१.२१ रहेको छ । नाफामा गिरावट र किताबी मूल्यको अनुपातामा बजार भाउ निकै धेरै रहनु, यसको सेयर लगानीका लागि कमजोर पक्षहरू देखिएका छन् ।

हिमालयन डिष्टिलरी लिमिटेड
© बजार मूल्य प्रतिकित्ता एक हजार २४४ रुपियाँ
© लाभांश वितरण १७१.०५ प्रतिशत जुन बहुराष्ट्रिय कम्पनी बाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये आ.व.२०७५–०७६ को एक आर्थिक वर्षमा लाभांश घोषणा गर्ने उत्कृष्ट कम्पनी हो ।
© कम्पनीको पुस १ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ५२.६३ प्रतिशत नगद लाभांश ५० प्रतिशत बोनस शेयर गरी १०२.६३ प्रतिशत तथा कम्पनीको सञ्चित मुनाफाबाट अन्तरिम लाभांशको रुपमा प्रतिशेयर ६८.४२ समेत गरी जम्माजम्मी १७१.०५ प्रतिशत लाभांश वितरण गरेको हो ।
© डिष्टिलरीको लोकप्रिय उत्पादन गोल्डेन ओक रहको छ । जुन बार्षिक १० लाख कार्टुनभन्दा बढि बिक्री हुँदै आएको कम्पनीको दावी छ ।
© रोजगारीको हिसाबले कम्पनीले प्रत्यक्ष तीन सयलाई रोजगारी दिएको छ ।

© आर्थिक बर्ष २०७५–०७६ मा सञ्चालन आम्दानी २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाख रहेको छ भने खुद नाफामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख पुगेको छ ।
© हिमालयन डिष्टिलरीले अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी चार अर्ब ३८ करोड ८० लाख राजश्वमा योगदान गरेको दावी गरेको छ ।
कम्पनीको बढ्दो लोकप्रियता र नाफा यसको सबल पक्ष भए तापनि मदिरा उत्पादन गर्ने कम्पनी भएकोले सरकारको कुनै पनि नीतिगत निर्णयको प्रत्यक्ष असर यस कम्पनीमा पर्न सक्ने खतरा भने रहिरहन्छ ।

शिवम सिमेन्ट
© बजार मूल्य प्रतिकित्ता ४४५ रुपियाँ
© चुक्ता पुँजी चार अर्ब ४० करोड
© नेपाल विद्युत प्राधिकरणको एक अर्ब २१ करोड १४ लाख बढी विद्युत महशुल बक्यौता भएको दावी ।
© चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १९ करोड ८६ लाख नाफा कमाएको छ जुन अधिल्लो बर्षको सोही अबधिको तुलनामा ४७ प्रतिशतको गिरावट हो ।
© प्रतिसेयर आम्दानी १८ं.०६ बार्षिक
© पीई रेसिया २६.६४ गुणा

शिवम सिमेन्टको सेयरमा लगानी गरेका लगानीकर्ताले दिनहुँ झै नयाँ नयाँ समाचार सुन्नुपर्ने अवस्था छ । कम्पनीका थुप्रै निर्णय र हरहिसाब अपारदर्शी रहेको लगानीकर्ताको गुनासो रहेको छ । कम्पनीको हाल प्रिमियमा देखाइएको ९४ करोड रुपियाँ यदि विद्युत प्राधिकरणको बक्यौता चुक्ता गर्ने हो भने अपुग हुने भएकोले नाफाको रकम पनि प्रभावित हुने देखिएको छ । त्यसमा पनि नाफामा आएको गिरावट कम्पनीका लागि थप समस्या निम्तिएको छ । मुलुकमा सिमेन्ट उत्पादन तथा विक्रीमा हाल देखिएको प्राइस वारको असर समेत कम्पनीमा नपर्ला भन्न सकिन्छ ।

सम्बन्धित समाचार