free website hit counter

उद्योग वाणिज्य महासंघ अध्यक्षको जिम्मेवारी अञ्जनले सम्हाले

beemaadmin
२०८३ बैशाख २३, बुधबार

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार उनी नेतृत्वमा आएका हुन्।

करिब दुई दशकभन्दा बढी समयदेखि महासंघसँग आबद्ध श्रेष्ठले संस्थाभित्र विभिन्न तहमा कार्य गर्दै व्यापक अनुभव हासिल गरेका छन्। राजस्व नीति, उद्योग प्रवर्द्धन तथा रोजगारदाता सम्बन्धी विषयमा उनको सक्रिय संलग्नताले आगामी कार्यकालमा निजी क्षेत्रका एजेन्डा थप व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वसँगै निजी क्षेत्रका सरोकारवालाले कर प्रणाली सुधार, उत्पादनमुखी उद्योगको प्रवर्द्धन, निर्यात वृद्धि र श्रम बजार व्यवस्थापनमा स्पष्ट कार्ययोजना आउने अपेक्षा गरेका छन्। पछिल्लो समय देखिएको आर्थिक सुस्तता, घट्दो लगानी तथा आयात–निर्यात असन्तुलनजस्ता चुनौतीबीच महासंघको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने दबाब पनि बढ्दै गएको छ।

व्यवसायिक पृष्ठभूमिमा श्रेष्ठ लक्ष्मी ग्रुपसँग आबद्ध छन्। उक्त समूहले उत्पादन, व्यापार, अटोमोबाइल र स्टिल उद्योगमा लगानी विस्तार गरेको छ। हुन्डाई गाडीको आधिकारिक वितरणदेखि स्टिल उत्पादन तथा असेम्बल उद्योगसम्मको अनुभवले उनलाई औद्योगिक नीतिमा व्यावहारिक दृष्टिकोण दिने विश्वास गरिएको छ।

उनको नेतृत्वमा महासंघले सरकारसँगको समन्वय कति प्रभावकारी बनाउँछ र निजी क्षेत्रका मागलाई नीतिगत तहमा कसरी रूपान्तरण गर्छ भन्ने विषय आगामी दिनमा मुख्य चासोको केन्द्र रहनेछ।

सम्बन्धित समाचार