free website hit counter

उपत्यकाका ११ हजार ट्याक्सी चालकको कोरोना बीमा हुने

beemaadmin
२०७७ असार २९, सोमबार

काठमाडौं । लगातारको लकडाउनले समस्यामा परेपछि कोरोना कहरका बीचमा पनि सडकमा निस्किएका झण्डै ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा हुने भएको छ । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने भएको हो । पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो । यस योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ । यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् । यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ । यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ । इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए । यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

सम्बन्धित समाचार