काठमाडौँ । प्रतिगभन भयो भन्दै सकडमा रहेको नेकपाले राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् । यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।
यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।
तोडफोडमा उत्रिए जोसुकैलाई नियन्त्रण
नेकपा प्रचण्ड माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई पक्राउ गरिने जनाएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, उहाँहरुलाई पहिल्यै जानकारी पनि गराइसकेका छौं, तोडफोड हुने स्थिति आए नियन्त्रणमा लिन्छौं । केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिंसात्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।