free website hit counter

उमेर घर्किसक्दा पनि युवराजको बिहे नभएकोमा जनता चिन्तित

beemaadmin
२०७८ जेष्ठ १९, बुधबार
  • किशोर नेपाल

काठमाडौं । नेपालको राजगद्दीका उत्तराधिकारी श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाहदेवको एकतीसौ जन्मोत्सव मनाउने तयारी शुरु भएपछि साधारण जनताको ध्यान अचानक मौसफप्रति आकर्षित भएको छ । “राजाको छोराले यत्रो उमेर भइसक्दा पनि किन विवाह नगरी बक्सिएको होला ? यो प्रश्नको जवाफ जोरपाटीका टीका शाहमात्र होइन अरू धेरै मानिसले जान्न चाहेका छन् । मौसफले उमेर छदै विवाह गरिबक्सिएन भने कतै राजगद्दीको उत्तराधिकारीको संकट त आइपर्ने होइन ?
जनता प्रार्थना गर्दछन्, हे पशुपतिनाथ यस्तो अनिष्ट नहोस् । । राजसंस्थाप्रति दैविक आस्था राख्ने नेपालीहरूको यो चासो अकारण होइन । उमेर पुग्नासाथ विवाह हुने परम्परा रहेको शाही परिवारमा सम्भवतः युवराजाधिराज दीपेन्द्र नै पहिलो व्यक्ति होइबक्सिन्छ जसको विवाह भएको छैन । युवराजाधिराजको विवाहको कुरालाई लिएर राजदरवार पनि चिन्तित छ । तर, युवराजको मन कहाँ गएर अडकिएको छ त्यो धेरैलाई थाहा छैन ।
युवराजाधिराज सरकारलाई नजीकबाट चिन्नेहरू मौसफको दुई युवतीहरूसँग भावनात्मक सम्बन्धको चर्चा पनि गर्दछन् । उनीहरूका अनुसार, यी दुईमध्ये एउटीसँग मौसूफ बाल्यकालदेखि नै आकर्षित होइबक्सिन्थ्यो, अर्की युवतीसँग मौसूफको भावनात्मक अनुराग उमेरले परिपक्व भएपछिको हो । “मौसूफलाई यी दुईमध्ये एउटीलाई रोज्न मुश्किल परेको पनि हुन सक्दछू राजदरवारमा कार्यरत एकजना व्यक्ति ठट्टा गर्दै बताउँछन, “तर मौसफ बहुपत्नी प्रथाको विरोधी होइबक्सिन्छ ।”
दीपेन्द्र शाह रोमान्टिक स्वभावका होइबक्सिन्छ । मौसूफ ठट्टा गर्न र खुलस्त कुरा गर्न रुचाइबक्सिन्छ । मौसूफ सवै प्रकारका इनहिविसन बाट मुक्त होइबक्सिन्छ, युवराजाधिराजलाई नजीकबाट चिन्दै आएका एकजना प्राध्यापकले जानकारी दिए, “आफ्ना जिज्यबवा महेन्द्रजस्तै दीपेन्द्र सरकार एउटा राम्रो कवि होइबक्सिन्छ । मौसूफका कविताहरू प्रकाशित भएका छैनन् । ती प्रकाशनमा आए भने नेपाली साहित्यको श्रीवृद्धि हुनेछ । तर, युवराजाधिराजको व्यक्तित्व महेन्द्र सरकारको जस्तो कठोर छैन । मौसफ नरम हृदयका होइबक्सिन्छ । केही व्यक्तिहरूले मौसफलाई संसदीय व्यवस्थाका विरोधी बताएपनि वास्तवमा युवराजाधिराज वर्तमान संसदीय व्यवस्थालाई रुचाइबक्सिन्छ र यसको संबर्द्धनमा रुचि लिइबक्सिन्छ । जनतामा अलिकति सामाजिक अनुशासन र दायित्वको भावना जागृत होस् भन्ने मौसूफको चाहना छ ।
युवराजाधिराज दीपेन्द्र अत्यन्त अध्ययनशील होइबक्सिन्छ । नेपालको भूगोल मौसूफको प्रिय विषय हो । मौसूफ फिक्सन पढी बक्सिन्न, नन फिक्सनमा मौसूफको अत्यधिक रुचि छ । यसबाहेक, उपलब्ध भएसम्मका सबै पत्रपत्रिका पढ्ने मौसूफको बानी छ ।
मुलुकको आर्थिक विकास सम्बन्धी छलफलमा भाग लिन रुचाइबक्सिन्छ युवराजाधिराज दीपेन्द्र । मौसूफ छलफलका क्रममा प्राय। गीताका श्लोकहरू उद्धृत गरिबक्सिन्छ । तर, शाही परिवारका मुख्य सदस्य भएका कारण मौसूफको चिन्तनको दायरा विश्वव्यापी छैन । मौसफ नेपालका समस्याहरूबारे सोचिबक्सिन्छ । मौसूफका लागि योभन्दा बढीको आवश्यकता पनि छैन । मौसूफ राजसंस्थाका प्रति उत्तरदायित्वबोध गरिबक्सिन्छ र विगतमा रुमलिनुभन्दा वर्तमान र भविष्यसँग तालमेल राख्न चाहिबक्सिन्छ ।
धेरैजसो अनौपचारिक र रंगीन पोशाक मन पराइबक्सिने युवराजाधिराज दीपेन्द्र मयलपोश सरुवालमा आकर्षक देखिइबक्सिन्छ । मौसूफलाई मनपर्ने पोशाक पनि त्यही हो, एकजना निकटवर्ती व्यक्ति बताउँछन् । उनका अनुसार, टोपीका बारे युवराजाधिराज दीपेन्द्र निकै सचेत होइबक्सिन्छ । मौसफलाई कुनै टोपी मन पर्यो भने त्यो टोपीको रंग नउडेसम्म त्यसैलाई लगाइबक्सिन्छ ।
तारेको आलु र चिउरा सम्भवतस् दीपेन्द्र शाहको सबभन्दा मनपर्ने खाना हो । दरवारमा मौसूफ संधै त्यही खाना रुचाइबक्सिन्छ । मौसूफलाई मनपर्ने रेष्टुरों यही भन्ने छैन । साथीहरूसँग नांगलोमा पनि रमाइबक्सिन्छ । भोजनगृहमा गएर खान पनि मन पराइवक्सिन्छ । तर, सबभन्दा धेरै मौसूफ द्वारिका होटेलको खाना मन पराइबक्सिन्छ र समय पाउँदा त्यहाँ जाने गरिबक्सिन्छ, मौसूफका एक निकटवर्तीले जानकारी दिए ।
आशावादी र समयप्रति सचेत श्री ५ यवराजाधिराज कसैसँग पनि कुरागर्दा बीचमा छाडेर हिडिबक्सिन्न । कुनैपनि विषयमाथिको छलफललाई टुंग्याएपछि मात्र मौसूफलाई सन्तोष हुन्छ । राज्य संचालनको प्रक्रियामा मौसूफको गहिरो रुचि छ । मौसूफ नियमित रुपले आफ्नो कार्यालय सवारी हुन्छ । दीपेन्द्र शाह राजतन्त्रलाई राजनीतिक चालकका रुपमा हेर्न रुचाइबक्सिन्न । तर, सामाजिक विकासमा मौसूफ राजसंस्थाले प्रमुख चालकको भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मान्यता राखिबक्सिन्छ । विगतमा दक्षिण एशियाली खेलकूदको तयारीको चरणदेखि अन्त्यसम्म मौसूफबाट देखाइबक्सिएको रुचि यसै कराको द्योतक हो।
एक अर्का प्रोफेसरले दिएको्र जानकारीअनुसार युवराजाधिराज दीपेन्द्र आफना जिज्यूबुवा महेन्द्रलाई श्रीपेच पहिरेका सबभन्दा ठूला कम्युनिष्टका रुपमा हेरिबक्सिन्छ । मौसूफ नेपालका वामपन्थी दलहरूमा उग्र वामपन्थीहरू बाहेक अरूलाई कम्युनिष्ट मान्न तयार होइबक्सिन्न ।
नेपालका राजनेताहरूमा कृष्णप्रसाद भट्टराईसँग कुरागर्न खूब मन पराइबक्सिन्छ। दीपेन्द्र । मौसूफ किशुनजीको ठट्टा र विद्वत्ताको तारीफ गरिबक्सिन्छ । तर, वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मौसूफको सम्बन्ध औपचारिक मात्रै छ।
आफ्ना पिता श्री ५ वीरेन्द्रबाट ज्ञान र अनुभव ग्रहण गरिबक्सिने दीपेन्द्रलाई माता ऐश्वर्यले आवश्यक कुराहरू दिइबक्सिन्छ । ूदुवैप्रति मौसूफको स्नेह निकै गाढा छ ू एक अर्का निकटवर्तीले बताए । ती निकटवर्तीका अनुसार, राजपरिवारका सवै सदस्यसँग श्री ५ युवराजाधिराजको सम्बन्ध स्नेहपूर्ण छ । राजपरिवारमा तर्कशील भनेर चिनिने अधिराजकुमार ज्ञानेन्द्रसँग आँखा जुधाएर कुरा गर्न धेरैले सक्दैनन् । तर, काका अधिराजकुमारसँग आँखा जुधाएरै कुरा गरिबक्सिन्छ युवराजाधिराज ।
आगामी असार १३ गते युवराजाधिराज एकतीस वर्षमा प्रवेश गरिबक्सिदैछ । मौसफको विवाहको उमेर घर्किन लागिसकेको छ । नेपाली जनता चाहन्छन्( मौसूफको विवाह छिटै होस् र धूमधामसँग होस् । तर, यो शुभलग्न कहिले जुर्ने होरु जान्ने उत्सुकता सबैमा उत्तिकै छ।

 

२०५८ जेठ १९ को दरबार हत्याकाण्ड हुनुभन्दा पाँच दिनअघि जेठ १४ मा सम्पादक किशोर नेपालले नयाँ सडक दैनिकको मुखपृष्ठमा लेख्नुभएको ऐतिहासिक लेख । युवराज दीपेन्द्रको बिहेलाई लिएर दरबार र स्वयं दीपेन्द्र पनि चिन्तित थिए । आफूले मन परेकी युवतीसँग बिहे गर्न नपाउँदाको झोकमा दीपेन्द्रले हत्याकाण्ड मच्चाएको तर्क कसैकसैले हिजोआज पनि गर्छन् ।

सम्बन्धित समाचार