free website hit counter

उर्जामन्त्री पुनतर्फ फर्केर प्रमले भन्नुभयो- ए, मन्त्रीको सचिवालयबाट विज्ञप्ति निकालेर कुलमानको डिफेण्ड गर्ने ?

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

कुलमान घिसिङ नियुक्ति प्रकरणमा तीन साताअघिको क्याबिनेट बैठकमा छिर्दाछिर्दै प्रधानमन्त्रीले उर्जामन्त्री बर्षमान पुनतर्फ फर्केर भन्नुभयो ‘ए, मन्त्रीको सचिवालयबाट विज्ञप्ति निकालेर कुलमानको डिफेण्ड गर्ने ? अनि प्रधानमन्त्रीले हुन नदिएको भनेर प्रचार गर्ने ?’

वर्षमानले पनि तत्काल जवाफ फर्काउनुभयो ‘सम्माननीयज्यू, मैले प्रक्रिया अघि बढाएकै हो । नियमानुसार सिफारिश र प्रस्ताव पनि पठाएकै हो । तर अहिलेसम्म भएन । तपाईंकै पनि कोही उपयुक्त मान्छे राख्नु छ भने गरौं । तर यो खाली नराखौं, उपयुक्त मान्छेलाई नियुक्त गरेर यसको टुङ्गो लगाऔं ।’

त्यसपछि पनि प्रधानमन्त्रीले टिप्पणी गर्नुभयो ‘जुनियर मान्छेलाई जिम्मा लगाउनुभएकै छ क्यार १’ हुनपनि नेपाल विद्युत प्राधिकरण ऐनमा कार्यकारी निर्देशक रिक्त भएको अवस्थामा वरिष्ठमध्ये एकजना निर्देशकलाई कायम मुकायम दिन सकिने व्यवस्था छ ।
तर, वरिष्ठ अन्यत्र खटिएकाले अहिले केन्द्रीय कार्यालयमा भएकामध्ये लेखनाथ कोइरालालाई कायम मुकायम दिइएको विषयमा प्रधानमन्त्रीको असन्तुष्टि रहेको उक्त कटाक्षबाट पुष्टि हुन्छ । पुनले उपयुक्त मान्छे जो छ त्यसलाई नियुक्त गरौं न भन्दा पनि प्रधानमन्त्रीले त्यसतर्फ कुनै चासो नदेखाउनुले वहाँ प्राधिकरणमा घिसिङको पुनर्नियुक्ति वा अरु कोहीको नियुक्तितर्फ पूर्ण रूपमा असन्तुष्ट रहेको छनक पाइएको हो ।

नेकपाभित्रको विवाद चुलीमा पुगेको बखत प्रधानमन्त्रीले ऊर्जामन्त्री पुनलाई तपाईंचाँहि मन्त्रीमण्डलमा निरन्तर रहनुपर्छ है भन्नुभएको थियो । तर, एउटा सानो कुरोको निहुँमा अन्ततः पुन पनि प्रधानमन्त्रीको ब्ल्याक लिष्टमा पर्नुभएको बताइन्छ । अब वर्षमानको भविष्य धरापमा परेको बुझ्न कुनै गाह्रो छैन ।

त्यसैगरी,शिक्षामन्त्री गिरिराजमणि पोखरेल कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा समेटिएको पाठ्यपुस्तक विवादमा तानिनुभएको छ । सम्भवतः इतिहासमै पहिलो पटक पोखरेलले पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको उक्त पुस्तकमा ६ पृष्ठ लामो मन्तव्य लेख्नुभएको थियो ।

नेपालमा पहिले पहिले नाप गरेर क्षेत्रफल तय गरेपछि मात्र नक्सा जारी गरिन्थ्यो । तर यसपटक पहिले नक्सा जारी गरियो अनि त्यसपछि मात्र मुलुकको वास्तविक क्षेत्रफल कति भयो भनेर आवश्यक नाप थालिएको हो । नक्सा जारी भएको महिनौं बितिसक्दा पनि वास्तविक क्षेत्रफलको औपचारिक घोषणा अहिलेसम्म गरिएको छैन ।

यस्तो अवस्थामा शिक्षा मन्त्रालयले प्रकाशित गर्न खोजेको पुस्तक विवादास्पद देखिएपछि प्रधानमन्त्रीले एकाएक उक्त पुस्तकको वितरणमा रोक लगाउनुभयो । साथै, एउटा फरक प्रसङ्गमा मन्त्री पोखरेलको चालु आर्थिक वर्षको बजेटमा हुँदै नभएको विषय कार्यान्वयन गर्न मन्त्रालय बाध्य नभएको भन्ने धारणाबाट पनि प्रधानमन्त्री पोखरेलसँग फायर हुनुभएको अनुमान लगाउन सकिन्छ ।

कृषिमन्त्री घनश्याम भुसाल पनि प्रधानमन्त्रीले नरुचाएको मन्त्रीको सूचीमा सूचीकृत हुनुभएको छ । हुनतः भुसाल समाजवादको राम्रो व्याख्याकार हुनुहुन्छ । वहाँले यस वर्षको रोपाईं सिजनअघि नै मल ल्याउन खोजेपनि बिचौलियाहरूको कारण सम्भव भएन । भुसालले मलको जोहो गर्न खोजिरहँदा प्रधानमन्त्रीले एकाएक आफ्नै पहलमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मलको लागि त्यहाँकी प्रधानमन्त्रीलाई फोन गर्नुभयो ।

उता, तेल निर्यात गर्ने राष्ट्र ओमानमा नेपाली राजदूत रहेकी शर्मिला पराजुली ढकालले तेल प्रशोधनको क्रममा निस्कने विभिन्न रसायनबाट मल उत्पादन गर्न सकिने प्रस्तावको फेहरिस्त काठमाडौं पठाइन् । त्यस्तो रसायन ओमानबाट बंगलादेश हुँदै आवश्यक प्रशोधनपछि साल्ट ट्रेडिङ्गले बिक्री वितरण गर्ने गरी नयाँ उपाय सुल्झाएको बताइन्छ । त्यसमध्ये ५० हजार मेट्रिक टन बंगलादेशलाई पैंचोस्वरूप लिइएको मलको शोधभर्ना गर्न सकिने भनिएको छ । तर पराजुलीको उक्त योजनामा खासै दम नदेखिएको भन्दै कृषि मन्त्रीले चासो देखाउनुभएन । जुन कुरा प्रधानमन्त्रीलाई मन परेको छैन ।

उता, इजरायलमा पाँच सय जना नर्सको रोजगारी खुलाइएको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै विशेष जोड दिनुभएको छ । त्यहि कामको लागि सरकारले राजदूत अन्जान शाक्यलाई संविधान दिवसको उपलक्ष्यमा पदकबाट सुशोभन गर्ने निर्णय गरिसकेको छ । सरकारले दिएको अख्तियारीपछि शाक्यले हालै जेरुसेलमममा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकी छिन् । उता, त्यहि तराजुमा राखेर पराजुलीलाई पोहोर नै संविधान दिवसको उपलक्ष्यमा पदक दिइएको थियो ।

(जनआस्थाबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार