free website hit counter

ऋषिराजले छाडे क्रेस्ट माइक्रो लाइफ

beemaadmin
२०८२ चैत्र २२, आईतवार

काठमाडौं। बिचौलिया नेटवर्क सञ्चालन गरेका दीपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्धित कारोबारका कारण विभिन्न साझेदारहरू समस्यामा परेका छन्। यसैक्रममा, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले पदबाट राजीनामा दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसँगको शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान थालेपछि मोर त्यसमा तानिएका थिए। अनुसन्धानमा परेपछि उनले कम्पनीको सञ्चालक समितिको सदस्य तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिएका हुन्।

अनुसन्धानका क्रममा भट्टले विभिन्न सार्वजनिक कम्पनीहरूबाट ठूलो रकम प्रयोग गरी सेयर खरिद गरेको खुलासा भएको छ। उनले हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड र हिमालयन क्यापिटलमार्फत ३७ करोड रुपैयाँ प्रयोग गरेको देखिएको छ। यस क्रममा ऋषिराज मोरले २३ करोड रुपैयाँ लिएको पनि अनुसन्धानले देखाएको छ।

मोरलाई भट्टका व्यावसायिक साझेदारका रूपमा पनि चिनिन्छ। भट्टले सर्वसाधारणको लगानी प्रयोग गर्दै नेपाल रि इन्स्योरेन्स, गार्जियन माइक्रो लाइफ र नेपाल माइक्रो लाइफ इन्स्योरेन्समा ठूलो परिमाणमा सेयर खरिद गरेका थिए। उक्त रकम भृकुटी ब्रोकरमार्फत मोरसम्म पुगेको देखिएपछि विभागले उनीसँग बयानसमेत लिइसकेको छ।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ।

मोरले चैत ६ गते नै राजीनामा दिएका थिए। तर, भट्ट पक्राउ परेपछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको हो।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स दिलाउने प्रक्रियामा तत्कालीन अध्यक्ष सूर्य सिलवालको भूमिका रहेको बताइन्छ, जसमा भट्टको प्रभाव रहेको आरोपसमेत लाग्दै आएको छ।

सम्बन्धित समाचार