free website hit counter

एकाघरका सदस्यको बीमा गराउन नपाउँदा घट्दैछ बीमा अभिकर्तामा आकर्षण

beemaadmin
२०८१ असार १६, शनिबार

परिवर्तन गर्नु छ भने शुरु आफैंबाट र आफ्नै घर परिवारबाट गर्नु पर्दछ । तर नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुलाई अंकुश लगाएको छ । बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०८० को परिच्छेद– ७ को ३६ नम्बरको ३ नं. बुँदामा बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन भनी उल्लेख गरि विसं. २०८० फागुन २४ गते स्वीकृत गरेको छ । यस्तो निर्देशनले सम्पूर्ण बीमा अभिकर्ता र बीमकहरुलाई प्रत्यक्ष असर पर्नु स्वाभाविक हो । यो निर्देशनबाट बीमक र अभिकर्ता दुवै निराश देखिन्छन् । यो भनेको चिकित्सकले आफ्नो घरपरिवारका सदस्यको उपचार गर्न नपाउनु, शिक्षकले आफ्ना बालबालिकालाई पढाउन नपाउनु जस्तै हो ।

बीमालाई प्रोत्साहन कि दुरुत्साहन
विविध प्रकारको प्रतिस्पर्धाका कारणले बीमा बजार सन्तोक्षजनक नै थियो । यसमा नेपाल बीमा प्राधिकरणले नेपाल सरकारको सल्लाहकारको भूमिका खेलेर बीमा बजार अझै विस्तार गर्न सक्दछ । जसमा जीवन बीमा सम्बन्धी न्यूनतम बीमालेखको बीमा शुल्क राज्यले व्यहोर्ने, त्यो शुल्क करबाट उठाउने गरी निर्जिवन बीमामा कृषि बीमालाई अनुदान दिए जस्तै सम्पत्ति बीमालाई तेस्रो पक्ष बीमाजस्तै अनिवार्य गराई त्यो शुल्क पालिकाबाट असुल गराई सबैलाई बीमाको दायरामा ल्याउन जरुरी छ ।
यति हुँदाहुँदै जीवन बीमामा बीमा अभिकर्ताको आकर्षण भनेको घर परिवारका सदस्यको बीमा गर्ने हो । आफ्नो परिवारको बीमालेख देखाएर बाँकी सम्पर्कका व्यक्तिहरुलाई बीमा गराउन प्रोत्साहन गर्ने हो । अर्थतन्त्र सुस्त भएका बेला अर्थतन्त्रलाई चलायमान गराउन सक्ने बीमा बजारलाई पनि प्राधिकरणको यो निर्देशनले खुम्च्याइदिएको छ । जसको कारण बीमक र अभिकर्तामा निराशा छाएको छ ।

आफ्नै घरपरिवारको जीवन तथा निर्जिवन बीमा गर्न नपाए किन अभिकर्ता बन्ने ?
अभिकर्ता बीमा व्यवशायका मेरुदण्ड हुन् । बीमकलाई बोझ नपर्ने स्वरोजगारमूलक यो पेशामा लगानी पनि गर्न नपर्ने भएका कारण लाखौं मानिस अभिकर्ताका रुपमा स्वरोजगार भएका छन् । बीमा अभिकर्ता बजारमा जाँदा ग्राहकले सोध्ने पहिलो प्रश्न तपाइँको यस कम्पनीमा कति रकमको बीमा छ ? घर–सम्पत्ति बीमा कतिको गर्नु भएको छ ? बालबच्चा तथा परिवारका सदस्यको बीमा कति गर्नु भएको छ ? ग्राहका यस्ता प्रश्न आउने गर्छन् । अब उपरान्त यो प्रश्नको उत्तर नियामक निकाय प्राधिकरणले बन्द गरिदिएको छ । कसैले पनि आफ्ना छोराछोरी, श्रीमान–श्रीमती, बाबु–आमा, दाजु–भाई, दिदी–बहिनीको बीमा अर्को बीमा अभिकर्ताबाट गराई आफ्नो व्यापार घटाउन चाहँदैन । सर्वप्रथम आफ्नो परिवारको बीमा गराएर पाएको आम्दानीबाट अभिकर्ता उत्साहित भई दोस्रो बजारमा प्रवेश गर्दथे । अब त्यो स्थिति कायम रहेन ।

सावधानी अपनाउनुपर्छ
एकाघरको बीमा गराउँदा पनि अभिकर्ताले जोखिमाङ्कनलाई चुस्त दुरुस्त गर्न जरुरी छ । यो जिम्मेवारी बीमकको पनि हो । यसरी एकाघरका परिवारको बीमा गरेमा जोखिमको मूल्यांकनमा कडाई गर्नुपर्छ तर बीमा गर्ने व्यवस्था नै बन्द गर्न मिल्दैन । किनकि एकाघरका अभिकर्ताले बीमालेखको गलत बिक्री गरेको शायदै छैन । बीमा व्यवसायलाई धरायी पार्ने गरी बैक्योस्योरेन्सको निर्णय गर्ने प्राधिकरणको अदूरदर्शी निर्णयकै कारण कोभिड बीमामा समग्र बीमा व्यवसाय प्रभावित भएको हो । जबकि महामारीको बीमा कुनै पनि देशमा गरेको पाइँदैन । जसको पुनर्बिमा पनि थिएन । अझै पनि १० अर्बभन्दा बढी कोराना बीमा रकम भुक्तानी हुन बाँकी नै छ । यी सबै शिक्षाबाट प्राधिकरणले फेरि एक पटक सिकोस् । ताकि निर्णयपछि छलफल गर्ने होइन, छलफलपछि निर्णय गर्ने परिपाटी बसोस् ।

सम्बन्धित समाचार