काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिँदै जाँदा पाँच हजार भन्दा बढी मानिस एकै दिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५००८ जनालाई संक्रमण देखिएको जानकारी दिए। देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।
उपत्यकामा २६७२ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको छ।
१४ जनाको ज्यान गयो
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस शुक्रबार नेपालमा १० जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।