काठमाडौं। लगानीको वातावरण नहुँदा वित्तीय क्षेत्रमा तरलताको अवस्था सिर्जना भइरहेको छ । राजनीतिक अस्थिरता झन पनि झन बढ्दो रहेको बेला लगानीको वातावरण बन्न सकिरहेको छैन । नेपालको सबैभन्दा ठूलो लगानीको क्षेत्र मानिएको घर जग्गा कारोबार समेत शुन्य जस्तै अवस्थामा पुग्दा अर्थतन्त्र चलयामान हुन नसकेको हो । राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थाबाट जाने घर कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले होम लोनको हकमा लोन टू भ्यालु रेसियो र कर्जाको सीमा बढाएसँगै यस क्षेत्रमा जाने कर्जा बढ्न थालेको हो। चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ३१ करोड १५ लाख रुपैयाँ घर कर्जा लगानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो लगानी ६९ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। घट्दो ब्याजदरसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्। अहिले ब्याजदर एकल अंकमा छ भने बैंकहरूसँग लगानीयोग्य रकम ८ खर्बभन्दा धेरै छ। साउनमा समग्र कर्जा ०.३ प्रतिशत अर्थात १७ अर्ब ४६ करोड रुपैयाँले खुम्चिंदा घर कर्जा भने बढेको हो। २०८२ साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.६० प्रतिशत अर्थात ४ खर्ब २३ अर्ब रुपैयाँ घर कर्जा हो।
राष्ट्र बैंकको नीति अनुसार, ३ करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि २ करोडको सीमा थियो। साथै, पहिलो पटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो ८० प्रतिशत पुगेको छ। यसअघि यस्तो रेसियो ७० प्रतिशत थियो। आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। अन्य क्षेत्रमा माग नहुँदा सुरुमा बैंकहरुले प्रोत्साहित गर्दै आएको क्षेत्र पनि घरजग्गा हो।
अहिले वाणिज्य बैंकहरुले घरजग्गा कर्जा ६ प्रतिशत हाराहारी ब्याजदरमा दिइरहेका छन्। वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर अहिले ७।७६ प्रतिशत छ। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतसम्म दिइरहेका छन्।