काठमाडौं । कोरोना बीमाका लागि आवश्यक कागजात पूरा गरी दावी भुक्तानीको निवेदन दिएकाम २ हजार ३०० जनालाई एक साताभित्रै बीमा दावी भुक्तानी दिइने भएको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलको निर्देशपछि यस्तो तयारी भएको हो । बीमक संघका अनुसार दावी परेका मध्ये अधिकांशको आंशिक मात्रै कागजात प्राप्त भएको र सम्पूर्ण कागजात प्राप्त भएपछि मात्रै दावी भुक्तानी प्रक्रियामा समावेश गरिने जनाएको छ ।
हालसम्म आवश्यक कागजात पूरै बुझाएहरुको संख्या २ हजार ३०० छ । अन्य बीमा दावीको कागजात अपुरो रहेकोले जतिसक्दो चाँडो बुझाउन पनि बीमक संघले आग्रह गरेको छ । हालसम्म विभिन्न कम्पनीमा १५ हजार भन्दा बढि दावी परिसकेको छ । सो मध्ये पिसिआर पोजेटिभ रिपोर्ट मात्रै बुझाउने धेरै रहेका छन् । कोरोना संक्रमित भएपछि घरभित्रै वा अस्पतालमा आईसोलेशनमा बस्नुपर्ने भएकोले कागजात बुझाउन ढिलाई हुने गरेको छ ।
बीमा समितिले कोरोना बीमा पोलिसी संशोधन गरी थप कागजात पेश गर्नुपर्ने भएपछि कागजात जुटाउन समय लागेको कारण दाबी भुक्तानी प्रक्रिया लम्बिन पुगेको हो । कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड अनुसार बीमितले कोरोना पोजेटिभका अतिरिक्त अस्पताल भर्ना भएको भए डिस्चार्ज पेपर वा घरैमा आईसोलेशनमा बसेको भए स्थानीय निकायबाट आईसोलेशनमा बसेको प्रमाणित गरेको कागजात समेत पेश गर्नुपर्नेछ । बीमक संघका अनुसार कागजात पूरा भएका २ हजार ३०० जना बीमितलाई आगामी एक साताभित्रैमा दावी भुक्तानी दिइने जनाएको छ । साथै अन्य बीमितको हकमा सम्पूर्ण कागजात पूरा भएको एक साताभित्रैमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।