काठमाडौं । नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो।
सप्ताहको सुरुवातमा भने सुनको मूल्य बढेको थियो। असोज ११ गते आइतबार प्रतितोला ७ सय रुपैयाँ बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य असोज १२ गते सोमबार एकैदिन ५ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको थियो।
त्यसपछि असोज १३ गते मंगलबार सुनको मूल्य थप ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भयो। असोज १४ गते बुधबार भने प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको थियो।
असोज १५ गते बिहीबार मूल्य स्थिर रहेको सुन शुक्रबार भने प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यसरी साताभर केही दिन मूल्यमा उतारचढाव देखिए पनि समग्रमा सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो। चाडपर्वको समयमा गहना खरिदबिक्री बढ्ने भएकाले बजारमा सुनको माग र मूल्यमा थप उतारचढाव आउन सक्ने व्यवसायीहरूको भनाइ छ।