free website hit counter

एक सातामा सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घट्यो

beemaadmin
२०८३ आश्विन १०, शनिबार

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते शनिबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य असोज ९ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको हो।

एक साताको अवधिमा सुनको मूल्यमा उतारचढाव देखिए पनि समग्रमा घट्ने क्रम बढी देखिएको छ। असोज ४ गते आइतबार भने अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको थियो। उक्त दिन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसपछि असोज ५ गते सोमबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा झर्‍यो। असोज ६ गते मंगलबार पनि मूल्यमा गिरावट आएको थियो। उक्त दिन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

असोज ७ गते बुधबार भने सुनको मूल्य सामान्य बढेको थियो। उक्त दिन प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको थियो।

तर, असोज ८ गते बिहीबार सुनको मूल्यमा पुनः ठूलो गिरावट आयो। उक्त दिन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भयो।

असोज ९ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।

यससँगै पछिल्लो एक सातामा सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको छ। सुन व्यवसायीहरूका अनुसार पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँको आसपासमा रहँदै आएको छ।

एक साताको अवधिमा सबैभन्दा उच्च मूल्य असोज ४ गते प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको थियो भने शुक्रबारसम्म आइपुग्दा २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको छ।

सम्बन्धित समाचार