free website hit counter

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

beemaadmin
२०८० कार्तिक ३, शुक्रबार

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्। काठमाडौंमा आयोजित ११ औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके शर्माले १ हजार २८१ र महेश श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरे। यस्तै रविना थापाले ४७ मत पाएकी छन्। उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर महेश श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेकी थिइन्। उपाध्यक्षमा विनोद श्रेष्ठ अस्ट्रेलिया, हेमराज शर्मा युके, खगेन्द्र न्यौपाने –मलेसिया, राजु रेग्मी कतार, रामशरण सिंखडा युके र रोविनप्रसाद शेरचन जापान निर्वाचित भएका छन्। यसैगरी युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजना प्रधान राई निर्वाचित भएका छन्। महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। जोशीले २ हजार ३७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बुद्धि सुवेदीले १ हजार ८१८ मत पाए। उपमहासचिवमा सोम सापकोटा १ हजार ७९० र प्रवीण गुरूङ २ हजार १५० मतसहित विजयी भए। यस्तै ६ सचिव पदमा भीम केसी कमल १ हजार ६७३, ज्ञानेन्द्र रेग्मी १ हजार ७८२, मनोजकुमार श्रेष्ठ २ हजार २४, नवराज रोस्यारा १ हजार ८५३, पारमणि पोखरेल १ हजार ६५१ र स्वतन्त्रप्रताप साह १ हजार ६६६ मत ल्याउर विजयी भएका छन्। महिला सचिवमा टीका गुरुङ २ हजार ३२० मत ल्याएर विजयी भएकी छन्। संघको कोषाध्यक्षमा सुदन थापा १ हजार ९९७ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगाना १ हजार ९१२ मत ल्याए। सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, अभियन्यु बस्नेत र तिलकप्रसाद गैरे निर्वाचित भएका छन्। यस्तै महिला कोषाध्यक्षमा अमृत थापा विजयी भएका छन्। अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २ हजार ३३६ मत ल्याएर निर्वाचित भएकी छन्। संघको युवा संयोजकम सुपेन्द्र घिसिङ २ हजार ३६ मतसहित विजयी भएका छन्। यता पराजित भएका शर्मा र श्रेष्ठले भने चुनावी नतिजा अस्वीकार गरेका छन्। केसी पक्षले चुनावमा ‘सेटिङ’ गरेको उनीहरूको आरोप छ। चुनाव गराएको अस्ट्रेलियन कम्पनी ‘भेरो भोटिङ’ कम्पनीसँग ‘सेटिङ’ मिलाएको आरोप उनीहरूले लगाएका छन्। उपाध्यक्षका प्रत्याशी केशव पौडेलको नेपालबाट खसेको मत शून्य देखिएपछि विवाद सुरू भएको हो। निर्वाचन समितिले भने पौडेलको मत परिणामबारे ‘भेरो भोटिङ’ सँग जानकारी माग गरिएको जनाएको छ।

सम्बन्धित समाचार