free website hit counter

एनभिडिया सीईओ हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घट्यो

beemaadmin
२०८३ कार्तिक २५, मंगलवार

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड अमेरिकी डलरले घटेको छ। कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै उनको कुल सम्पत्ति घटेको हो।

फोर्ब्सका अनुसार नोभेम्बर ९ मा हुआङको कुल सम्पत्ति घटेर १५४ अर्ब ७० करोड डलरमा सीमित भएको छ। सम्पत्तिमा आएको गिरावटसँगै विश्वका धनी व्यक्तिहरूको सूचीमा उनी आठौँ स्थानबाट खस्किएर दसौँ स्थानमा पुगेका छन्।

Advertisement
Advertisement

यसैबीच, हुआङ र एनभिडियाविरुद्ध सेयरधनीहरूले अदालतमा सामूहिक मुद्दा दायर गरेका छन्। कम्पनीले हुआङ र एलिस हुआङबीचको सम्बन्ध तथा त्यससँग जोडिएका राष्ट्रिय सुरक्षा चासोबारे लगानीकर्तालाई आवश्यक जानकारी नदिएको उनीहरूको आरोप छ।

Advertisement
Advertisement

अमेरिकी अधिकारीहरूले एलिस हुआङ चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशङ्का गरेको समाचार सार्वजनिक भएको थियो। उनी सिंगापुरस्थित एक डेटा सेन्टर कम्पनीकी पूर्वकार्यकारी हुन्।

उक्त विवाद सार्वजनिक भएपछि एनभिडियाले यस विषयमा स्वतन्त्र अनुसन्धान गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले भने गोप्य व्यावसायिक सूचना वा राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको कुनै प्रमाण नरहेको जनाएको छ।

हुआङसँग एनभिडियाको ३.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ। त्यसैले कम्पनीको सेयर मूल्यमा हुने उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

सम्बन्धित समाचार