free website hit counter

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

beemaadmin
२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा शेयर बिक्री सुरु गरेको हो।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरिसकिएको छ। साथै, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिएको छ।

Advertisement
Advertisement

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। यसअनुसार कुल ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन्।

Advertisement
Advertisement

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदनको अन्तिम म्याद जेठ २७ गते तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सी–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय अवस्था मूल्यांकनका लागि केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी डबल बी (CARE-NP BB) इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने बताइएको छ।

सम्बन्धित समाचार