free website hit counter

एमसीसीको घेराबन्दीमा प्रम ओली, सत्ताच्यूत गर्नेसम्मको खेल

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं, ५ असार । एमसीसीको लाडाई नेकपाभित्र चर्केर गएको छ । यसैलाई बहाना बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको भित्री चलखेल शुरु भएको छ । एमसीसीको एकोहोरो रटान प्रधानमन्त्री ओलीलाई महंगो पर्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । ओलीका सामु एमसीसीबाट पछि हट्ने या सत्ता छाड्नुपर्ने वाध्यात्मक परिस्थिति निर्माण गरिँदैछ । यसको संकेत उपाध्यक्ष बामदेव गौतमले गरिसकेका छन् । गौतम नेकपाभित्रका सुरथका एक्का रहँदै आएका छन् । उनको पछिल्लो भनाईले कुनै गम्भीर घटनाको संकेत गरिसकेको छ । गौतमकै साथले ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्न सफल भएका थिए । उनकै साथले अप्ठ्यारोमा परेका ओली दुई विवादास्पद विधयेक ल्याउँदा सत्ता टिकाउन सकेका थिए । यसपटक भने साथ नदिने स्पष्ट धारणा आइसकेको छ । गौतमले हिजो आफ्नो सचिवालयमार्फत् आफ्नो प्रधामन्त्री ओलीसँग विमति रहेकाले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । उनले पार्टीको औपचारिक निर्णय बमोजिम सरकार चल्नुपर्नेमा जोड दिदै त्यसो नभए कडा निर्णय आउनेसम्मको संकेत गरेका छन् । उनको आशय एमसीसीबारे नै थियो ।
प्रधानमन्त्री ओली एमसीसी संसदीय दलमार्फत् पारित गराउने गरी निर्णय गराउन चाहिरहेका छन् । तर, पार्टी निर्णय बमोजिम हुनुपर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको छ । सचिवालय सदस्य रामबहादुर थापा बादल पनि एमसीसीको विपक्षमा छन् । पक्षमा ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल देखिएका छन् । यसरी सचिवालयमा ६ र ३ को अवस्था बनेको छ ।
भोलि सचिवालय डाकिएको छ । १० असारमा स्थायी समिति बैठक डाकिएको छ । बैठक टार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ओली अनुपस्थित भएपनि गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुई तिहाई कोरम पुर्याएर भएपनि एमसीसीबारे निर्णय लिने ओलीइतरको रणनीति छ । त्यस अवस्थामा वार पार हुनसक्छ । ओलीले एमसीसी संसदबाट पारित गराएर जान खोजे पार्टी निर्णय विपरित हुनसक्ने र संसदमै नेकपाका सांसदहरुको पक्ष विपक्षमा मत पर्न सक्छ । ओलीले एमसीसीको बचाऊ हिजो पनि संसदमा गरे । उनले महाकाली सन्धीको बेलामा पनि विगतमा त्यतिकै उफ्रिएको भन्दै व्यङ्ग्य गरे । एमसीसी नपढी बोलेको समेत भनेर बचाऊ गरे । यसरी ओली पछाडि हट्ने सम्भावना कमजोर भइरहेको छ । अब वार पार एमसीसीबाटै हुने आँकलनका साथ नेकपाभित्रका उनको विरोधमा देखिएको समुह रणनीतिका साथ तयार भएको छ । प्रचण्ड, खनाल, माधव र गौतम बसेर रणनीति तयार गरिसकेको बुझिएको छ । यसपटक एमसीसीको मामलामा कोही यताउता नहुने समझदारी समेत बनेको विश्वस्त स्रोतले जनाएको छ । विगतमा बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्रले परिस्थिति फरक पर्न गएकाले हिजो उनको सचिवालयमार्फत् बोल्ने अवस्था बनाइएको थियो । गौतम बोलेपछि अब उनी ओलीको पक्षमा छैनन् भन्ने स्पष्ट भएको छ । एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी भएको छ । त्यसका लागि पाँचजना सचिवालय सदस्यको भित्री तयारी रहेको बुझिएको छ । बादल सरकारमा रहेकाले यताउता हुनसक्ने सम्भावना छँदैछ । बरु विष्णु पौडेल गुट परिवर्तन गर्नसक्ने अवस्था बन्न सक्छ । ओली र पोखरेल भने एकसाथ छन् । १५ असारभित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिइसकेको छ । नेकमभित्र यसबारे मतभेद गहिरो छ । यसैलाई अस्त्र बनाएर ओली सरकार ढाल्न खोजेको कतिपयको बुझाई रहेको छ । हुनपनि अहिले यही विषयलाई लिएर ओली सरकारमाथि एकसाथ प्रहार गर्न नेकपाका हेभिवेटहरु लागेका छन् । यसको सामना गर्न भने ओलीलाई हम्मे पर्न सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार