काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को जीवन बीमा कोष १ खर्ब ५१ अर्ब रुपैयाँ नाघेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बीमा व्यवसाय र जीवन बीमा कोषमा वृद्धि भएको जानकारी दिएको हो।
कम्पनीको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा जीवन बीमा कोष १०.३१ प्रतिशतले वृद्धि भई १ खर्ब ५१ अर्ब ८ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
बीमा व्यवसायमा करिब १० प्रतिशतको वृद्धि
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.६२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ९८ करोड रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९.५६ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
नाफा र प्रतिसेयर आम्दानीमा गिरावट
व्यवसाय विस्तार र जीवन बीमा कोषमा सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा १०.५२ प्रतिशतले घटेको हो।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ८८ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घटेर ७ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
सञ्चित कोष तथा पुँजीको अवस्था
एलआईसी नेपालको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित कोष तथा अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ।
गत असार मसान्तको तुलनामा कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँबाट बढेर २ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, महाविपत्ति कोष ७७ करोड ३५ लाख रुपैयाँबाट वृद्धि भई ७८ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अन्य इक्विटी ३५ करोड ५० लाख रुपैयाँबाट बढेर ३८ करोड ३० लाख रुपैयाँ कायम भएको छ। कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १२ पैसा रहेको छ। वित्तीय विवरण सार्वजनिक हुँदाको समयमा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११४.१३ गुणा रहेको छ।
समग्रमा एलआईसी नेपालको बीमा व्यवसाय, जीवन बीमा कोष र सञ्चित कोषमा सुधार देखिए पनि खुद नाफा तथा प्रतिसेयर आम्दानीमा आएको गिरावटले कम्पनीको वित्तीय नतिजामा मिश्रित अवस्था देखाएको छ।